काठमाडौँ — प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूची टुंग्याउन विभिन्न राजनीतिक दलले आइतबार (आज) बैठक बोलाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ। उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची तय गर्न सचिवालय बैठक बोलाइएको हो। बैठकले सूची टुंग्याएपछि निर्वाचन आयोगमा बुझाइने उनले बताए। सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था प्रतिकूल भएपछि शनिबारका लागि बोलाइएको बैठक आइतबार सारिएको हो। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आइतबार बस्दै छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधिसभा सदस्यको समानुपातिक सूची तय गर्न बैठक बोलाइएको हो। सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने जनाइएको छ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि प्रतिनिधिसभाको समानुपातिक सूची आज आइतबार टुंग्याउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिक नाम टुंग्याउन पत्र पठाएपछि नेकपाले बैठक बसेर अन्तिम सूची तय गर्न लागेको हो। नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ भने समानुपातिकतर्फ ९ सिट प्राप्त गरेको छ। पार्टी कार्यालयका सचिव गोविन्द आचार्यले आज आइतबार बस्ने बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाउने बताए।
यसअघि नेकपा एमालेले आफ्नो भागमा परेको १६ जनाको नाम सिफारिस गरिसकेको छ भने श्रम संस्कृति पार्टीले पनि ४ जनाको नाम निर्वाचन आयोगमा पठाइसकेको छ।

