काठमाडौँ — काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि कारबाही गर्ने जनाएको छ।
ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भन्दै बढी मूल्य लिने तथा इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काइने गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको कामपाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले बताए।
काफ्लेले भने, “ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर बढी मूल्य लिने तथा सर्वसाधारणको जनजीवनमा असहज अवस्था सिर्जना गर्नेमाथि कारबाही गरिनेछ। नेपाल आयल निगमले ग्यासको मूल्य आधा सिलिन्डरको ९५५ रुपैयाँ तोकेको छ। यही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी र उपभोक्तासँग हाम्रो अनुरोध छ।”
ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले बढी भण्डारण गर्न थालेकाले पनि बजारमा अभाव देखिएको उनको भनाइ छ। “यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पर्छ। त्यसैले उपभोक्ताले पनि जिम्मेवार भएर ग्यास माग गर्नुपर्छ,” काफ्लेले भने, “सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व हुन्छ। आआफ्नो दायित्व सबैले पूरा गर्नुपर्छ।”
पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भन्दै सवारीसाधनलाई उपलब्ध नगराएको सूचना आएको जनाउँदै उनले यस विषयमा महानगरले निगरानी थालेको बताए।
ग्यास र इन्धन अभाव सिर्जना गर्ने गतिविधि देखिएमा तथ्यमा आधारित विवरण महानगरपालिकाको ‘हटलाइन नम्बर’ ११८० मा जानकारी गराउन सकिने व्यवस्था गरिएको छ। प्राप्त विवरणका आधारमा महानगरले निगरानी गर्ने जनाएको छ।
ग्यास बिक्रेता महासङ्घ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास आपूर्ति हालसम्म नियमित छ। उनले सञ्चितिका लागि अनावश्यक माग नगर्न उपभोक्तासँग आग्रह गरेका छन्।

