विश्वनाथ खरेल

विश्वमा आधाभन्दा बढी जनसंख्या नारी वर्गको रहेको छ । तर नारीले पुरुष सरह आफूलाई नागरिक बनाउन लामो संघर्ष गरेको इतिहास साक्षी छ । आज चन्द्रलोकको यात्रा गरिसकेका र मंगल ग्रहमा जान तरखरिएका देशहरु जस्तै संयुक्त राज्य अमेरिका पनि नारी आन्दोलनको लामो इतिहास छ । देश निर्माणको कार्यमा नारीको दायित्व पनि पुरुष सरह नै हुँदा जवसम्म उनीहरुलाई उचित शिक्षा प्रदान गरिन्न तबसम्म बिकासको क्रममा सिथिलता नआउँला भन्न सकिन्न । “विकास विना मुक्ति संभव छैन भन्ने कटु सत्यलाई हामी नारीहरुले पनि ह्दयगंम गरौ र पुरुषवर्गको साथै आ–आफ्नो क्षेत्रबाट मुलुकको आर्थिक एवं सामाजिक विकासका लागि अझ बढी समर्पित हुन सकौं ” सन् १९७० को दशकलाई नारी दशकको रुपमा संसार भरीनै मनाइयो । त्यसै गरी प्रत्येक वर्ष मार्च ८ तारिखलाई विश्वभरी अन्तराष्ट्रिय नारी दिवसको रुपमा मनाइदै छ । हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा आधाभन्दा बढी जनसंख्या महिलाको छ । नेपाली नारीहरुको सामान्य स्थितिमा परिवर्तन ल्याउन, नारीप्रति पुरुष र समाजको धारणा, सोचाई, मनोभावना, दृष्टिकोेण अथवा बैचारिक परिवर्तन नै जरुरी छ । यसरी विभिन्न तहमा कार्यमूलक योजनाका प्रभावकारी कार्यान्वयनको आवश्यक छ । यो विना खाली भाषण, नारा र प्रस्तावमा मात्र सीमित रहेर पुग्दैन । यसको लागि योजनाको कार्यान्वयन स्तरमा ठोस नीति जरुरी छ ।
नेपाली समाजको सन्दर्भमा नारीहरु हरेक क्षेत्रमा पुरुषभन्दा पछाडी छन् । नेपाली नारीहरुको पिछडिएको स्थितिलाई शिक्षा, रोजगारी, मानव विकास प्रतिवेदन, आय र सम्पतिमाथिको उनीहरुको अधिकारले पनि पुष्टि गर्दछ । नारीहरुको पहँुच नीति निर्माणको तहमा पनि पुग्न सकेको छैन् । तर नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन दुवै एक अर्काका पूरक पनि हुन जवसम्म पुरुषले मात्र सम्पूर्ण कार्य गर्न असंभव नै भइसक्यो त्यसको लागि नारीवर्गबाट सहयोगको अपेक्षा राख्न सकिन्छ । जुनसुकै देशको बिकासको गतिलाई समष्टिरुपमा अवलोकन गर्दा ती बिकास पुरुषवर्गको सहयोगले मात्र संभव भएको होइन, त्यसमा स्त्री वर्गको पनि त्यतिकै सक्रिय योगदान रहेको छ । ती महिलावर्गको चौतर्फि बिकासमा सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक आदि क्षेत्रमा संलग्न हुनको लागि सर्वप्रथम शिक्षाको उज्यालो ज्योति फिजाउंनु आवश्यक पर्छ । त्यसपछि मात्र नारी जागृति कार्यक्रम अनुरुप ग्रामीण महिलाहरुको मनोबलमा प्रस्फुटन भई विभिन्न क्रियाकलापहरुमा सक्रियाताका साथ भूमिका निभाउन सकिन्छ । त्यसको लागि ग्रामीणस्तर देखि नै योजनावद्ध कार्यक्रम संचालन हुनु पर्ने देखिन्छ । त्यसबाट देश विकासमा पुरुष मात्र नभई महिनाको समेत सहभागी हुन्छ ।
यसरी नारी र पुरुष वीचको सम्वन्ध धर्ती र आकाशको परिवेशमा एकाकारकोरुपमा विद्यमान रहेको छ । बेद, धर्म–ग्रन्थहरु र विभिन्न विद्धानहरुले समाजका नारीहरुको उत्थानमा जोड दिएको पाइन्छ । त्यस्तै गरी हिन्दू संस्कृतिमा पनि “यत्र पूज्यन्ते नारीः तत्र रमन्ते देवताः ” भनि नारीवर्गलाई उच्चस्थानमा राखिएकोे छ । नारीका हक र अधिकारहरु प्रति कानूनी संरक्षण प्रदान गर्ने र उनीहरुलाई आफ्नो कर्तव्य तथा अधिकारप्रति सजग र सचेत गराउने तर्फ विशेष दृष्टि दिन थालियो । अतः २१ औं शताब्दीमा प्रवेश गरेको विश्वले नारी जागरणमा जे जति कार्य भए त्यतिले मात्र सन्तोष मान्न सकिन्न । हाम्रो देशको शैक्षिक स्थितिलाई हेर्दा ६५.९ प्रतिशत साक्षरतामध्ये पुरुष ७५.१ प्रतिशत र महिला ५७.४ प्रतिशत रहेको छ । यसरी नरको तुलनामा नारीको प्रतिशत कम छ । यो देखिनुको मुख्य कारण अन्धविश्वास, परम्परागत नीति, रुढीवादी, अशिक्षा आदि हुन । यसरी ग्रामीण समाज शिक्षा दीक्षाबाट अन्धकारमा रुमलिइएको छ । जस्ले गर्दा छोरीलाई अभिशापको रुपमा लिने ग्रामीण बासिन्दाले छोरीलाई पढाउन हुन्न, उनीहरुलाई बालकमै विवाह गरेर पठाउनु पर्छ भन्ने आदि नकारात्मक सोचाइले गर्दा उनीहरुको भविष्य अन्धकारमय हुन गएको छ ।
समग्रमा भन्नुपर्दा महिना भएकै कारण घरभित्र र बाहिर महिलाले भोग्नुपरेका पीडा खपिनसक्नुछ । दाइजो, तिलक र बोक्सी प्रथाका साथै यौनदुव्र्यवहार बढ्दो छ । विश्वका ८० प्रतिशत महिला लैंगिक भेदभावजन्य हिंसा भोग्न बाध्य छन् । नारी र पुरुषवीचको असमानताका लागि पुरुषलाई मात्र दोष दिने र समानताको नाममा पुरुषलाई शत्रुको रुपमा प्रस्तुत गर्ने कथित नारीवादी सोचलाई त्यागेर नारी उत्थानका लागि नर नारी दुवैले एकआपसमा हातेमालो गर्नु पहिलो कदम हो । अतः नारी एक गृहिणी मात्र नभएर समाजको आधा बोझ थाम्ने दरिलो आधार पनि हो । यसर्थ नारीका सम्पूर्ण समस्याको निराकरणका लागि नारीवर्ग नै शिक्षित एवं जागृत हुनु एकातिर छ भने अर्कोतिर नारी समानताका जति कुरा गरे पनि व्यवहारमा नारीवर्ग माथि भेदभाव, शोषण र अन्याय अत्याचार भइरहेका छन । औपचारिक पक्षलाई हेर्दा पनि समानताका लागि सरकारले कानून समेत ल्याउन सकेको छैन । त्यसैले होला आजको अन्तर्राष्ट्रिय नारी जगत पनि पुरुष सरह भई आ–आफ्नो कार्य क्षेत्रमा उत्रन सचेत भई तुलबुलाउन थालेको देखिन्छ ।

