काठमाडौँ — बेमौसमी वर्षापछि आएको बाढीका कारण उदयपुरको कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबारदेखि उक्त सडकखण्ड अवरुद्ध बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
यता, काभ्रेपलाञ्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी हुँदै सञ्चालन हुने बीपी राजमार्ग क्षेत्रमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै प्रहरीले रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।
प्रहरीका अनुसार वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको हो।
सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रहरीले जनाएको छ। यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

