काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आसन्न साधारणसभा जेठ ३ गते हुने तय भएको छ । यसैबीच संघको नेतृत्वका लागि पुराना तथा चर्चित कलाकार उत्तम केसीले आज अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
उत्तम केसीको उम्मेदवारी संघका संस्थापक अध्यक्ष रविन्द्र खड्काको प्रस्ताव र प्रथम नायिका भुवन चन्दको समर्थनमा दर्ता गरिएको हो । अनुभवी कलाकारहरूको साथ र समर्थनले उनको उम्मेदवारीलाई थप बलियो बनाएको छ।
यसैबीच अर्का उम्मेदवार धर्मेन्द्र आचार्यले उत्तम केसीको योजना तथा एजेन्डा मन परेको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिँदै उनलाई समर्थन जनाएका छन्। यस कदमले संघको नेतृत्वमा सहमतिको संकेत देखिएको विश्लेषण गरिएको छ।
त्यसैगरी, अध्यक्ष पदका लागि कलाकार सविन श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् । अब साधारणसभामा कलाकारहरूको मतद्वारा नयाँ नेतृत्व चयन हुनेछ। संघको निर्वाचनले नेपाली चलचित्र क्षेत्रको नेतृत्व र भावी दिशा तय गर्ने भएकाले कलाकार तथा सरोकारवालाहरूको चासो उच्च देखिएको छ। यस्तै संघको विभिन्न पदमा नयाँ पुराना कलाकारहरूले उम्मेद्बारी दर्ता गराएका छन् ।
उपाध्यक्ष पदमा उद्धवप्रसाद भट्टराई, डिलबहादुर तामाङ, पनाह अधिकारी, पुजना प्रधान, राजेन्द्र बस्नेत तथा शिवहरि नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । महासचिव पदमा रामेश्वर बर्माकोटी र सुनिल कटवाल र सचिव पदमा गोपाल ढकाल र पल्पसा डंगोलले उम्मेदवारी दिनुभएकोछ ।
त्यसैगरी, कोषाध्यक्ष पदमा तेजकुमारी खतिवडा, पवित्रा आचार्य तथा रञ्जना खड्का प्रतिस्पर्धामा छन् । सह-कोषाध्यक्ष पदमा पवन केसी र शारदा नेपाल उम्मेदवारी परेको छ ।
सदस्य पदमा भने २८ जना कलाकारले उम्मेदवारी दिएका छन् । सदस्य पदका लागि अनुमती नेपाली, अशोक धिताल, इन्द्रबहादुर लामा (खम्बे), कोसिस क्षेत्री (पराजुली), गोकुल सुवेदी, चन्द्रकला दाहाल (मोनिका), चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम डोल्मा गुरुङ, जीवन थापा, दमन रूपाखेती, दावा फिन्जो तामाङ, धनबहादुर तामाङ, नम्रता खरेल, नम्रता योगी, नवीनकुमार श्रेष्ठ, प्रेम पाण्डे (पुण्य प्रसाद), मञ्जुदेवी तुलाधार, रश्मीला भट्ट (कार्की), राजेन्द्र गोसाई, लक्ष्मण चौलागार्ईं (खिन्ते काका), विनोदकुमार भट्टराई, श्रीदेव भट्टराई, सरिता राजोपाध्याय, सामना सिटौला, सुपा खनाल, सुमन सागर जंग केसी, सूर्यमान शंकर (सुलेमान) , हरि चन्द्र फुयाँललगायतले उम्मेदवारी दिएका छन् ।

