काठमाडौँ — नेपाल आयल निगमले बजारमा देखिएको आपूर्ति अभावलाई मध्यनजर गर्दै आज (शुक्रबार)देखि खाना पकाउने एलपी ग्यास आधा सिलिण्डरको दरमा बिक्री वितरण सुरु गरेको छ।
बजारमा ग्यासको अभाव हुने संकेत देखिएपछि बिहीबार बसेको निगमको बैठकले आधा सिलिन्डर ग्यास भरी बिक्री बितरण गर्ने निर्णय गरेको हो। निगमका अनुसार अर्को सूचना जारी नभएसम्म प्रति सिलिण्डर ७.१ किलोग्राम एलपी ग्यास मात्र बिक्री गरिनेछ।
७.१ केजी परिमाणको ग्यासको मूल्य ९ सय ५५ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
निगमले जारी गरेको सूचनामा हालको परिस्थितिलाई दृष्टिगत गर्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन र उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध गराउन यो व्यवस्था लागू गरिएको हो ।
निगमले पछिल्ला दुई–तीन महिनायता काठमाडौँ उपत्यकामा ग्यासको माग अस्वाभाविक रूपमा बढेको र आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेकाले यस्तो निर्णय गर्नुपरेको पनि जनाएको छ।

