कर्णाली। कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कडाइ बढाइँदा फागुन महिनामा रु १३ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका अनुसार सो अवधिमा एक हजार ४३१ सवारीसाधन कारबाहीमा परेका हुन्।
कारबाहीमा परेका सवारी धनीबाट रु १३ लाख आठ हजार राजस्व उठाइएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए। रत्न, कर्णाली, राप्ती, मध्यपहाडी, भेरी करिडोर, मदन भण्डारी र कर्णाली करिडोरलगायतका राजमार्ग तथा भित्री सडकखण्डमा गरिएको जाँचका क्रममा सवारी नियम उल्लङ्घन भेटिएका सवारी साधनलाई कारबाही गरिएको हो।
यसै अवधिमा ९३ सवारी दुर्घटनामा १३१ सवारी साधन संलग्न भएको पाइएको छ। दुर्घटनामा सात पुरुष र एक महिला गरी आठ जनाको ज्यान गएको छ भने १६० जना घाइते भएका छन्। घाइतेमध्ये ६४ जनाको अवस्था गम्भीर र ९६ जनाको सामान्य रहेको छ।
ट्राफिक प्रहरीका अनुसार दुर्घटनाका मुख्य कारण तीव्र गति, मादक पदार्थ सेवन, चालकको असक्षमता र अव्यवस्थित पार्किङ रहेका छन्।
दुर्घटना न्यूनीकरणका लागि विद्यालय, कलेज, चालक–परिचालक तथा सर्वसाधारण लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ३२ हजार ५६ जना लाभान्वित भएका छन्।
फागुन महिनाभरि ७८ हजार ८३९ सवारीसाधन जाँच गरिएको कार्यालयले जनाएको छ।

