नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडक खण्डमा अझै यातायात सञ्चालन हुन सकेको छैन।
लगातारको वर्षाले सडक हिलाम्य बनेपछि सवारी आवागमन प्रभावित भएको हो। शुक्रबार दिउँसोदेखि परेको वर्षाका कारण दाउन्नेको उकालोमा सवारीसाधन चिप्लिएर अघि बढ्न नसक्दा जामको समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
उनका अनुसार घिउखोला, विश्वकर्मा मन्दिर क्षेत्र र पैसट्ठीमोड आसपासका स्थानमा समस्या बढी देखिएको छ। जाम बढ्दै गएपछि पूर्वबाट पश्चिमतर्फ जाने ठूला तथा मालवाहक सवारीसाधनलाई कावासोती क्षेत्रमा रोकेर व्यवस्थापन गरिएको छ।
यसअघि नै नारायणगढ–बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा रातिको समयमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।
बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत निर्माण कार्य भइरहेकाले सामान्य वर्षामै पनि उक्त खण्डमा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। अवरोध हटाई यातायात सञ्चालन सहज बनाउन मर्मत तथा व्यवस्थापनको काम भइरहेको आयोजनाले जनाएको छ।

