काठमाडौँ। देशमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
हाल कोशी र मधेस प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका केही भूभागमा मध्यम खालको वर्षासँगै हिमपात भइरहेको छ।
आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। साथै, पहाडी तथा हिमाली भूभागका केही स्थान र कोशी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

