काठमाडौं । काठमाडौं उपत्यकाको वायु गुणस्तर निकै खराब अवस्थामा पुगेको छ। आज बिहान मापन गर्दा वायु प्रदूषण निकै अस्वस्थ तहमा पुगेको देखिएको छ।
स्विट्जरल्याण्डस्थित रियल टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार आज बिहान समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ पुगेको छ।
सामान्यतया १५० नाघेपछि अस्वस्थ मानिने वायु गुणस्तर २०० माथि पुगेपछि ‘निकै अस्वस्थ’ तहमा पुग्छ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि पुगेमा ‘खतरनाक’ तहमा पुगेको संकेत गर्ने मानक छ।
हालको सूचकांकका आधारमा काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये तेस्रो स्थानमा छ। भारतको दिल्ली पहिलो र बंगलादेशको ढाका दोस्रो स्थानमा रहेका छन्। यी दुवै सहरमा पनि वायु प्रदूषण निकै अस्वस्थ स्तरमा पुगेको छ।
प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौलासम्बन्धी समस्या निम्त्याउन सक्ने भएकाले सचेत रहन अनुरोध गरेका छन्।
मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ।

