काठमाण्डौ। कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत अवस्थामा फेला परेकी महिलाको हत्या उनकै श्रीमानले गरेको खुलेको छ।
गत मंगलबार होलीका दिन बिहान स्थानीय ५५ वर्षीय प्रेमलाल चौधरीकी श्रीमती करिब ५० वर्षीया मानादेवी चौधरी आफ्नै घर नजिकै रहेको बाख्राको गोठमा मृत अवस्थामा फेला परेकी थिइन्।
शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएकी चौधरीको हत्या श्रीमान प्रेमलालले गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्।
घटनापछि २८ वर्षीय मगरु चौधरीले कर्तव्य ज्यान मुद्दामा कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। आरोपित प्रेमलाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

