काठमाडौं । दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका छन्। अनुमति पाउने कम्पनीहरू सानीगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावर कम्पनी हुन्।
धितोपत्र बोर्डका अनुसार सानीगाड हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न स्वीकृति पाएको छ। कम्पनीले आफ्नो कुल सेयर संरचनामध्ये ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ भने ७० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ।
यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
त्यस्तै कालंगा हाइड्रोपावर कम्पनी ले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४९ लाख कित्ता साधारण सेयर निष्कासनका लागि अनुमति पाएको छ। कम्पनीले कुल सेयरमध्ये ३५ प्रतिशत सर्वसाधारणका लागि जारी गर्नेछ। यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
दुवै कम्पनीले छिट्टै विवरणपत्र (प्रोस्पेक्टस) सार्वजनिक गर्दै कम्पनी तथा आयोजना सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने जनाइएको छ।

