काठमाडौं । नेपाल भाषा पत्रकार तथा साहित्यकार किरण मानन्धरको निधन भएको छ। ५९ वर्षका मानन्धर सुरेशकिरण नामले परिचित थिए।
भाषा आयोगका सदस्यसमेत रहेका मानन्धरलाई सोमबार अचानक हृदयघात भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो। अस्पताल पुर्याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
पञ्चायतकालीन समयमा नेपाल भाषाको इनाप साप्ताहिकबाट पत्रकारिता सुरु गरेका मानन्धरले नेपाल भाषा टाइम्सका सम्पादकका रूपमा तीन दशकभन्दा बढी समय सक्रिय रहेर काम गरेका थिए। नेपाल भाषा पत्रकारिताको विकास र विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको मानिन्छ।
मानन्धरले नेपाल भाषा, नेपाल संवत् तथा नेवारी संस्कृति सम्बन्धी विषयमा लामो समयदेखि निरन्तर लेखन गर्दै आएका थिए। उनी नेपाल भाषाका आधुनिक कविका रूपमा पनि परिचित थिए। उनको एक कवितासंग्रह समेत प्रकाशित छ।
उनको परिवारमा श्रीमती र दुई छोरा रहेका छन्।

