काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै धनी व्यक्तिहरूको सूचीमा १९८२ औँ स्थानमा परेका छन्।
अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्व अर्बपति र्याङ्किङमा चौधरी २.१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित उक्त स्थानमा पुगेका हुन्।
सन् २०२५ मा उनी १७६३ औँ स्थानमा थिए। त्यसबेला उनको सम्पत्ति करिब २ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको थियो। सन् २०२६ मा भने उनको सम्पत्ति बढेर २.१ अर्ब डलर पुगेको छ। एक वर्षको अवधिमा चौधरीको सम्पत्ति करिब १० करोड डलरले वृद्धि भएको फोर्ब्सले उल्लेख गरेको छ।
चौधरी दक्षिण एसियामा भारतीय अर्बपतिबाहेक अर्बपति सूचीमा पर्ने केही सीमित व्यक्तिमध्ये एक हुन्। सार्क क्षेत्रका अन्य मुलुकका धेरै व्यक्तिहरू भने फोर्ब्सको अर्बपति सूचीमा परेका छैनन्।
सन् २०१९ मा उनी १३४९ औँ स्थानमा पुगेका थिए। तर COVID-19 पान्डामिकको समयमा उनको सम्पत्तिमा केही गिरावट आएको थियो। पछिल्ला वर्षहरूमा भने उनले आफ्नो व्यवसाय विस्तार गर्दै सम्पत्ति वृद्धि गर्न सफल भएका छन्।
फोर्ब्सको अर्बपति सूचीमा पहिलो स्थानमा एलन मस्करहेका छन्। उनको कुल सम्पत्ति ८३९ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ। दोस्रो स्थानमा लारी पेज रहेका छन्।
फोर्ब्सका अनुसार अर्बपति सूचीमा सबैभन्दा धेरै व्यक्तिहरू युनाइटेड स्ज्तेट्स, चीन र भारतका रहेका छन्।

