काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने ४ बाँकी क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म सर्वाधिक १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। नेपाली कांग्रेसले १७ स्थानमा जित हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता कायम गरेको छ। नेकपा (एमाले)ले ८ निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको छ र एक स्थानमा अगाडि रहेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवार एक–एक निर्वाचन क्षेत्रमा विजयी भएका छन्।
यसैबीच मतगणना जारी रहेका केही निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ। इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई श्रम संस्कृति पार्टीका उम्मेदवारभन्दा १९८ मतले अगाडि रहेका छन्।
गोरखा निर्वाचन क्षेत्र नं. १ मा भने रास्वपाका सुधन गुरुङले ठूलो मतान्तरसहित अग्रता कायम गरेका छन्। प्राप्त मतान्तरका आधारमा उनको जित लगभग सुनिश्चित भइसकेको आँकलन गरिएको छ।
गुरुङले १८ हजार २९७ ल्याउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्री ११ हजार १६७ मतमै सिमित छन् ।
यता धनुषा निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार कालोसूचीमा परेको भन्दै उम्मेदवारी नै खारेज गरिएको छ। उम्मेदवार खारेज भइसकेको अवस्थामा पनि घण्टी चिन्हमा उल्लेख्य मत खसेको देखिएको छ। खारेज गरिएका उम्मेदवार न्यायको माग गर्दै अदालत पुगेका छन्।
यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका मातृका यादव झिनो अग्रतामा छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहले पछ्याइरहेका छन्। यादवले हालसम्म ७ हजार ५६६ मत प्राप्त गरेका छन् भने साह १३८ मतले पछाडि रहेका छन्।
यसैगरी संखुवासभा निर्वाचन क्षेत्र नं. १ मा पनि मतगणना जारी छ। यहाँ नेकपा (एमाले)का अर्जुनकुमार कार्की १० हजार १७७ मतसहित अग्रस्थानमा छन् भने रास्वपाका उम्मेदवार मिङ्मा शेर्पाले ९ हजार १९४ मत ल्याउँदै पछ्याइरहेका छन्।
यस क्षेत्रमा देशभरको मतपरिणामको ट्रेण्डलाई हेर्ने हो भने कार्कीलाई रास्वपा उमेदवार शेर्पाले उछिन्न सक्ने सम्भावना बाँकी नै छ । 
बाँकी निर्वाचन क्षेत्रको मतगणना जारी रहेकाले अन्तिम परिणामप्रति चासो बढेको छ।

