काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।
निर्वाचन आयोगबाट आज बिहान ६ बजे प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वाधिक १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा समेत रहेको छ।
त्यस्तै नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ। नेकपा (एमाले)ले ८ निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको छ भने एक स्थानमा अगाडि रहेको छ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ। श्रम संस्कृति पार्टीले ३ स्थानमा विजय प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले एक–एक निर्वाचन क्षेत्रमा जित निकालेका छन्।
हाल बाँकी निर्वाचन क्षेत्रको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतगणना भैरहेको इलाम-१ मा नेपाली कांग्रेसको अग्रता छ। यहाँ काँग्रेसका निश्कल राई श्रम सस्कृती पार्टीका उमेद्वार भन्दा १९८ मतले अगाडि छन् । गोरखा निर्वाचन क्षेत्र-१ मा रास्वपाका सुधन गुरुङको अग्रता छ । उनले निक्कै ठूलो मतान्तरले मत पाएका छन् । गुरुङको जित लगभग सुनिश्चित भैसकेको देख्न सकिन्छ ।
धनुषा निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उमेद्वार कालोसूचिमा परेको भन्दै उमेद्वारी नै खारेज भएको छ । उमेदवार खारेज भैसक्दा पनि घन्टी चिन्हमा उल्लेख्य मत खसेको छ ।
खारेज भएका उमेदवार न्यायका लागि अदालत गएका छन् । यता नेपाली कम्युनिष्ट पार्टीक मातृका यादव थोरै मात्र मतले अगाडि छन् । उनलाई १३८ मात्र कम मतले नेपाली कांग्रेसका उमेदवार रामपल्टन साहले पछ्याईरहेका छन् । यादवले हाल ७५६६ मत प्राप्त गरेका छन् ।
अर्को संखुवासभा १ मा मतगणना जारी छ जहाँ नेकपा एमालेका अर्जुनकुमार कार्की १०१७७ मतसहित अग्र पङ्तिमा छन् । उनलाई रास्वपाका उमेद्वार मिङ्मा शेर्पाले ९१९४ मतसहित पछ्याईरहेका छन् ।


