काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सल्यानबाट विजयी भएका रमेश मल्लले विजय र्याली, जुलुस र भोजभतेर नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विशिष्ट परिस्थिति र परिघटनाको उपज भएको बताएका छन्। यस्तो अवस्थामा सल्यानका मतदाताले देखाएको विश्वास र पार्टीका नेता–कार्यकर्ताको मेहनतका कारण आफूले विजय हासिल गरेको उनको भनाइ छ।
मल्लले उक्त सफलतालाई जित–हारको रूपमा नभई सल्यानी जनताले दिएको माया, विश्वास र थपिएको जिम्मेवारीको रूपमा लिएको उल्लेख गरेका छन्।
त्यसैले यो निर्वाचन विशिष्ट परिस्थितिमा सम्पन्न भएकाले जिल्लामा विजय र्याली, जुलुस, भोजभतेर तथा अबिर जात्रा जस्ता कार्यक्रम नगर्न/नगराउन उनले अनुरोध गरेका छन्।
तर उनले मतदाताप्रति आभार व्यक्त गर्न पार्टी र जनप्रतिनिधिको तर्फबाट गाउँ–बस्तीमा पुगेर धन्यवाद दिने पनि बताएका छन् । मल्ल नेकपाको तर्फबाट सल्यानमा निर्वाचित भएका हुन् ।

