काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ। रास्वपाले हालसम्म १०२ स्थानमा विजय हासिल गरेको छ भने २३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
नेपाली कांग्रेसका उम्मेदवार १५ स्थानमा निर्वाचित भएका छन् भने दुई क्षेत्रमा अग्रता बनाएको छन। त्यसैगरी नेकपा एमालेले सात स्थानमा जित हासिल गर्दा तीन क्षेत्रमा अग्रता कायम गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीले छ स्थानमा जीत हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन्।
अर्कोतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म २४ लाख ८२ हजार ६१० मत गणना सम्पन्न भएको छ।
सम्पन्न समानुपातिकतर्फको मतगणनामा रास्वपा १२ लाखको आँकडा पार गर्दै पहिलो स्थानमा छ। उसले १२ लाख ५३ हजार ९४७ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले ४ लाख २३ हजार ६७४, नेकपा एमाले ले ३ लाख ३६ हजार ५३९ तथा नेपाली कम्युनिस्ट पार्टी ले १ लाख ६५ हजार १६९ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ले ९० हजार ८२५ र श्रम संस्कृति पार्टी ले ५० हजार ४९८ मत ल्याएका छन्।
पछिल्लो मत परिणामले रास्वपा सरकार गठनका लागि सहजै दुई तिहाइ प्राप्त गर्ने देखिएको छ भने प्रमुख दल कांग्रेस, एमाले र नेकपा निक्कै कमजोर देखिएका छन्।

