कविता
प्रिय कामरेड
काखीमा केही थान
सपनाको पोको च्यापेर
हामीले तय गरेका थियौं
एउटा यात्रा ऊ बेला।
हाम्रा सपनाहरुको गोरेटोमा
जोडेका थियौं थुप्रै थुप्रै मनहरुलाई
हो कामरेड हामीले
सपनाको बीज बोएर
विपनाको मोह देखाएका थियौं
हामीले बिच्छ्याएको त्यो मोहजालमा
अंकित थियो मुक्तिको धुमिल चित्र
मुक्ति चित्रको
त्यो क्यानभासमा
कोरेका थियौं
अभाव, दबाव, प्रभावले पेलिएको
भेद, विभेद र निशेधको जंजीरमा जेलिएको
सामान्ती समाजको दुष्कर आकृति
तिमीलाई सम्झना छ कि छैन
कुन्नि कामरेड!
तर मेरो मानसपटलमा
तरोताजा नै छन्
ती प्रत्येकपल।
भन्थ्यौ हामी
तिनै तस्वीरहरु देखाएर
भत्काउनुपर्छ विकृत समाज
बल्नेछ मुक्तिको दियो
फेरिनेछ जीन्दगी
आहा कायापलट हुनेछ दुनिया
हो कामरेड!
हामी यसै भन्थ्यौ
पररर ताली पड्कन्थ्यो
मान्छेहरू दंग पर्थे
लट्ठ हुन्थे
हाम्रा शब्द शब्दमा जादु थियो
हामी शब्दहरूले मोहनी लगाउँथ्यौं
मिठा सपनाहरूको उरूङ बोकेका
हामी अग्रगमनका यात्री
ती मुक्तिकामी योद्धाहरू
हाम्रै पछि त लाग्थे नि
हैन र कामरेड?
हामीले छलाङ मार्दै गयौँ
समय बदलिँदै गयो
हामीले शासन बदल्यौं,
शासक बदल्यौं
प्रिय कामरेड
हामीले युद्ध जितिसकेपछि
सपनाका पोकाहरु
फुकाएर बाँड्नुपर्ने थिएन र
सहयात्रीहरुलाई?
पुर्याउनु पर्ने थिएन र
मुक्तिको गन्तव्यमा?
खै, मौसम बदलिए जस्तै
तिमी पनि फेरियौ
पाखा लगाउँदै लगाउँदै गयौ
सहयोद्धाहरूलाई
सायद अकल्पित
सर्वसत्ताको उन्मादले गाँजेपछि
तिमी लोभीपापी बन्दै गयौ
बिर्सदै गयौ अतीतहरु
तोड्दै गयौ कसमहरु
साँच्चै दुखका साथ भन्नुपर्दा
तिमीले धर्म छाड्यौ कामरेड
हो कामरेड
रक्तरञ्जित युद्धका डोबहरूमा
तिमीले नै कुल्चदै हिडेपछि
छताछुल्ल पोखिए सपनाहरु
पल-पल चोइटिए मुटुहरु
असरल्ल छरिए जीन्दगीहरू
म तिनै असरल्लिएका
जीन्दगीको एक टुक्रा हुँ
छताछुल्ल पोखिएका
सपनाहरूको एक थोपा हुँ
र त आजभोलि
तिम्रो र मेरो बाटो मिल्दैन
म तिमीसँग छैन
तिमी मसँग छैनौ
– नवीन पल्लव
महाराजगञ्ज काठमाण्डौ

