-स्वयम्भू शाक्य
मान्छेको जीवन न हो,बाँच्नकालागि धेरै घाम–पानीखर्च गरेर आजसम्म बाँचिरहेको छु । डुब्न लागेको सूर्य जस्तो भोलिदेखि अब कति घाम–पानी खर्च गर्नु पर्ने हो । त्यो त मेरै भाग्यले निर्धारण गर्ने छ । अब त भोलिदेखि कतिदिन बाँच्न बाँकी छ । यो त मेरै भगवानलाई सोध्नुपर्छ । डाँडा पारीको घाम जस्तो पिलपिली बली निभ्न लागेको बत्ती जस्तो, न दिन हो न रात हो यो सन्ध्या भएर सूर्य अस्ताउन मात्र बाँकी रहे जस्तो यो जीवन क्रमशःओरालो लागिरहेको छ । चुहेको पानी जस्तो थोपा थोपा झरेर कुन दिन रित्तो हुँदैछ थाहा छैन । आखीर मान्छे न हो । एक छिन पछि के हुँदैछ कसले भविष्यवाणी गर्न सकिन्छ र ? मृत्युको काखमाआराम सँग निदाउनकालागि मैले यहाँ सास फेर्न बिर्सनु पर्छ । आगोले पोल्ने यो जिन्दगीमा नदीको किनारमा एक्लै सुत्दा शब्दहीन भएर आगोसँगै खेल्नुपर्छ । खरानी बन्ने चाहनामा पानीसँगै बगेर कता–कता यो भवसागरबाट लुकेर जानु पर्छ । त्यसैले मैले धेरै घाम–पानी पिइसकेको छु । पिउँदा पिउँदै धेरै सुख र दुःखका कुराहरू भोगिसकेको छु । विहानदेखि रातिसम्म , रातिदेखि विहानसम्म धेरै चोटी चन्द्र र सूर्यलाई भेटिसकेको छु । यो जीवनमा अब कतिदिन भेट्न बाँकी छ । अब कतिदिन गन्न बाँकी छ । घाम डाँडा पारी पुगेपछि अब लुक्न मात्र बाँकी छ । भनिन्छ यो जीवन एउटा चक्र हो । जहाँबाट शुरु हुन्छ त्यही गएर अन्त्य हुनुपर्छ । पञ्च तत्वको शरीरमा अलिकता आगो छ । अलिकता पानी छ । अलिकता वायु छ । अलिकता माटो छ । अलिकता आकाश छ । त्यसैले यो शुन्य–शुन्य भित्र न शब्द छ । न स्पर्श छ । न रूप छ । न रस छ । न गन्ध छ । केवल निराकार भएर आफ्नो कर्मको फलमात्र परमात्मालाई बुझाउनु छ ।
हो परिवर्तशील यो संसारमा कुनै पनि बस्तु स्थिर रहन सक्दैन । न पहाड नै स्थिर रहन सक्छ न धरती नै । त्यसैले पलपलमा हामीले देख्न नसक्ने गरी स–साना टुक्रा भएर एउटा नासिनु छ अर्को बस्तुको जन्म हुनु छ । अपितु यो छोटो यात्रामा धेरै कुराहरू बुझ्नु पर्ने रहेछ । समय सँगै धेरै कुराहरू खर्च गर्नुपर्ने रहेछ । हुन त लुक्न लागेको घाम न हो । कहाँ छिपिएर जान सक्छ र ? साँझ परेर आकाशमा एक छिन रमाएर होला रात झमक्क पर्न थालिसकेको छ । जिन्दगी समयसँगै धेरै हिँडेर आज जिन्दगी बिसाउने ठाउँमा पुग्न लागेको छ । चौकी चौकीहरूमा खबरदारीले पालो नि भ्याईसकेको छ ।
घाम–पानी जिन्दगानी
खर्च ज्यादै गरिसकेछु
छैन बाँकी धेरै अब ता
घाम डाँडापारिको छु ।
मलाई किन हो कुन्नी त्यो समुद्र भन्दा पर नगई नहुने काम छ । मुक्तिकालागि अन्तिम सीमामा पुगेर आखिरी छेऊ पत्ता लगाउनु छ । डाँडाको पल्लो पाटोमा बसेर जिन्दगीको अन्तिम सुस्केरा हाल्नु छ । तीरैतीरमा मनलाई बिछ्याएर जिन्दगीको सार पाउनु छ । त्यसैले मलाई पर त्यही निर जानु छ । जहाँ जीवनमा आश्रम पाइन्छ । जहाँ जीवनको अन्तिम घडी रहेछ । जहाँ जीवनको अन्तिम समय रहेछ । जहाँ जीवनको अन्तिम लक्ष्य रहेछ । त्यही जानु छ । कतै परबाट बोलाएर होला यो जीवन किन हो कुन्नी त्यहीमात्र जान चाहन्छ । मृत्युको चौकी नजिक भएर होला धेरै मान्छेहरू डराए जस्तो देखिन्छ । तर मलाई किन हो कुन्नी यो जीवनमा केहीगर्न नपाईकन माटोमा त्यसै बिलाएर जाने हो की भन्ने डर छ । नजिक त के भो र ?आफैंले बोलाएर ल्याएर मृत्युको मुखभित्र आफैं पस्नु छ । एकमुठी आगो पिएर दनदनी बलेर जानु छ । एउटा ठाउँबाट अर्को ठाउँमा बसाँई सराईं गर्नु छ । त्यसैले अनुकृति फेर्नका लागिआज मसानघाटको चौकीचौकीमा युगकवि सिद्धिचरण श्रेष्ठले पालो कुरेर बसिरहेको छन् । स्वरूप फेर्नको लागि असली मुहार हेर्नका लागि जिन्दगीको अन्तिम मोडमा चौकीदार भएर बस्दैछ ।
पार उसतिर के छ कुन्नि
तर नगै नहुने मलाई
मृत्यु चौकी नजिक देख्छु
नकल मेरो फेर्नलाई ।
म त परदेशी मान्छे कतै जाँदा मलाई राहदानी देखाउनु पर्छ । म त के छु र अर्काको नियममा चल्नु छ । हिँड्दा हिँड्दै साँझ परेपछि नदीको किनारामा पनि बास बस्नु छ । सुत्नकालागि आफु सँग भएको सबै झिटिमिटिहरू बरबुझारथ गर्नु छ । चाहे त्यो काँच वा बहुमूल्य रत्न नै किन नहोस् । सबै कुराहरू यो आँखाको अगाडि छर्लङ्ग हुनेछ । स्पष्टसँग बुझिने गरी सत्य के हो उज्यालोमा देखिने छ । काँच र रत्नको कुरा सबै मान्छेले नबुझे पनि आँखा चिम्लेर सदाका लागि निदाउने मान्छेले यो धेरै अन्तर रहेछ भनी पछुताउँदै रुने छ ।
आज यो तीरमा मेरो खुट्टाछ । त्यसैले आजदेखि यो भवसागरबाट बिदा लिएर बसेको छु । हिँड्नै नपर्ने गरी पारी डाँडामा अब लुकेर बस्नु छ । मलाई चाहिँदैन अब यहाँ अमूल्य रत्नहरू किनकि म नाङ्गै जन्मेको मान्छे अब म नाङ्गै भएर जाने छु । मैले कमाएका धन सम्पत्तिहरू, मैले कमाएका मान प्रतिष्ठाहरू मेरा आफ्नै नातागोता र ईष्टमित्रहरूलाई छोडेर यो देह यही माटोमा बिलाउन खोज्दैछु । केवल दुई दिनको सम्झना त हो पछि धमिलो भएर जाने छ । समयले मान्छेलाई कताकता बगाएर लैजाने छ । त्यसैले हामीले काँच र रत्नको भेद थाहा पाउनु छ । सब तत्व नै नबुझे पनि मान्छे–मान्छेको लागिबाँच्नु छ ।
राहदानी हेरिनेछ
जे छ झिटिमिटि खोलिनेछ
काँच अथवा रत्न ल्याएँ
सब त्यहाँ छर्लङ्गिनेछ ।
म जन्मेर नमरुन्जेलसम्म मैले जे गर्दैछु ती सबै कुराहरू एक एक लेखाजोखा गरी त्यो मसान घाटको ठूलो ढुङ्गामा ईश्वरले कोरिने छ । कहिले नमेटिने गरी यो आत्मा परमात्मासँग विलिन भएर पनि मैले गरेका ती कर्महरू यमराजले त्यो ढुङ्गामा हेरी आफैंले निर्णय गर्नेछन् । त्यसैले त्यो शिलामा लेखिएका अक्षरहरू कसले पो फेर्न सक्छ र ? न मेटेर मेटिन सक्छ न छोपेर छोपिन सक्छ । होइन भने फेर्न सक्ने शक्ति यो संसारमा कसको छ र ? शब्द एउटै, भाव एउटै, निर्णय एउटै, सजाय एउटै, कतै काखा र पाखा नगरी कर्मको फल भोग्नका लागि एउटा मान्छे आगोमा पोलिसकेपछि हिसाब किताबबाट जे देखिन्छ त्यही भोग्न बाध्य हुनेछ । फैशला कार्यान्वयन गरेर सुनलाई आगोमा पोले जस्तो असत्य आत्माहरूलाई नुनचुक छर्केर यातना दिने छ । जूनीजूनी सम्म सम्झनाहोस् भन्नाकालागि त्यो दण्डले ती आत्माहरू सँधै चोखो बनाई चौकीदारको रूपमा हेर्न सकोस् भन्ने यही नै ईश्वरको भित्री कामना रहेछ । त्यसैले हामी मान्छे भएर बाँच्ने हो भने जलिरहेको त्यो लाशलाई सम्झिने गर । बस् त्यति भए पुग्छ ।आज र भोलिको लागि पर्सी त ईश्वरले फैशला गर्ने छ ।
एक एक हिसाब मेरो
कोरिएका छन् शिलामा
फेर्न सक्ने शक्ति कसको
शब्द एउटै पैmसलामा।
युगकवि सिुद्धिचरण श्रेष्ठले आजको मात्रहो इन सधैं भोलिको कुरा किन गर्छ होला ? घाम–पानीको जिन्दगीमा डाँडा पारिको कुरा मात्र किन निकाल्छ होला? झिटिमिटि खोलेर काँच र रत्नको कुरा किन गरे होला ? जिन्दगीमा कर्मको हिसाब किताब शिलामा लेखिएको हुन्छ भन्ने कुरा किनभने होला ? कसैलाई भेदभाव नगरी पैmसला गर्छ भने कुरा किन सुनाएहोला ? मृत्यु चौकी नजिक देखेर यो चोला फेर्नका लागि किन सोचेहोला ?मुक्तिको लागि पहाडको त्यो पल्लो पाटोमा नगै नहुने कुरा किन भने होला ? एउटै शब्दमा छर्लङ्ग देखिने गरी उज्यालो किन खोजे होला ?

