१६ श्रावण, शनिबार । टपटेन डेक्स
१. पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।
२.नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । दुई पक्षबीच सहमति जुटाउन पहल गरिरहेकोले सहमतिका लागि बैठक स्थगित भएको हो ।
३.जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।
४. नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका हुन् ।
५.झापाको विर्तामोडस्थित टाइमलेस होटलमा खोपसहित नगरका कोभिड फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानबिन गर्न शनिबार समिति गठन भएको छ।
६ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ । सरकार विस्तार तथा जनताको दैनन्दिन समस्या समाधानका विषयमा केन्द्रित भएर छलफल भएको हो।
७ आर्थिक : साताभर कूल २२५ कम्पनीको रु ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार १४५ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता शेयर कारोबार भएको हो ।
८ खेलकूद: जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १९ स्वर्ण पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।
९ अन्तर्राष्ट्रिय : राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् । त्यस क्रममा आइएसले कम्तीमा आठजनाको हत्या गरेको बताइएको छ ।
१० मौसम अपडेट : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
