-जयराम बिडारी
यान्त्रिक जिवनको एकोहोरो भागदौडको केही समयको बीचमा क्रमभंगबाट प्राप्त कौशलताको अवसर नै सार्थक जिवन हो । आफ्नो जन्म सार्थक पार्ने जीजिविषा कस्लाई पो नहुंदो होला र ? ‘’डाँडापाखा तथा प्रकृतिसंगको साक्षात्कार पदयात्रीको लेखनमा चमत्कार ‘’ भन्ने अभिलाषाका साथ केही समय पहिला देखि शुरु गरिएको पदयात्राको सत्प्रयास यादगार रहोस् कि आफ्नो अनुपस्थितिमा समेत धेरैको मानसपटलमा जीवन्तता रहोस् भन्ने मूलमर्म बनाउनु भएका साहित्यकारहरुको टोलीमा सामेल हुने प्रयास गर्ने क्रममा ।
२०७९ चैत्र ४ गते हामी दुई (कवि रुबि सत्याल र म) करिव ३० मिनेट जतिको मोटरसाइकिल यात्रा पश्चात चावहिल स्थित ओम हस्पिटल पुग्यौं । फलामे घोडा (मोटरसाइकिल) लाई ओम हस्पिटलको पार्किंगमा बिश्राम दिएर धोवीखोला पुलमा टोलीको प्रतिक्षामा रहेकै अवस्थामा कवि असिम सागर पनि हामी भएको ठाऊँमा टुप्लुक्क आईपुग्नु भयो । बस छुट्छकि भन्ने पिरलोमा परेका हामी दुईलाई वहाँको उपस्थितिले ढाडस मिलेको अनुभूति भयो । स्रष्टा पदयात्री टोली लिएर नुवाकोट जाने साधन (बस ) सहित बोडे, मुलपानी, जोरपाटी लगायतका स्थानबाट स्रष्टा पदयात्रा समूहका अग्रज व्यक्तित्व शीतल गिरीलगायत प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी, डा.यादेवी ढकाल, स्रष्टा खोलाघरे साहिंलो, नगाधिराज, परशुराम पराशर मन्दिरा मधुश्री, गीता निरौला सहित आउनुभएको रहेछ । करिव १० मिनेट जतिको पर्खाइपछि गाडी अघि बढ्यो । सामाखुसी गएर टोखा जाने बाटोमा एकैछिन पर्खियो र त्यहाँ पनि केही व्यक्तिलाई चढाएर हुँइकियो आफ्नो गन्तव्यतिर ।

गाडीमा जनघनत्व बढि भएर सबैलाई आवश्यक सिट नपुगेकोले ऐतिहासिक नगरी टोखा बजारमा पानी लगायत आवश्यक मुढा लिनका लागि करिव १५,२० मिनेट जति रोकिएर पुनः गाडी आफ्नो रफ्तारमा नुवाकोटतर्फ अघि बढ्यो । अव कंक्रीटको जंगल र शहरी कोलाहलयुक्त वातावरणबाट आँखा र मस्तिष्कलाई आराम मिलेर वास्तवमै प्रकृतिको काखमा बसेको महसुस गरिरह्यो हृदयले ।
बाइपास मदानपुर हुँदै त्रिशुली, बेत्रावती त करिव १३ वर्ष पहिला पनि पितृ उद्धारहेतु गइएकै हो ।यसपाली भने टोखा छहरे हुँदै नयाँ रुटबाट जाने अवसर जुटेको कारणले यात्रका क्रममा गाडीको अघिल्लो भाग (चालकको सिटको बिपरित बर्नटको साइडमा ) बसेर प्राकृतिक दृष्यावलोकन गर्न मन पर्ने हुनाले म लगायत कवि रुबि सत्याल, शान्ति सापकोटा, डा.यादेवी ढकाल, डा.धनप्रसाद सुबेदी, प्रभा बराल लगायतका साथीहरु अग्रभागमा बसेर गफिंदै अघि बढ्यौं । प्रभा बराल पनि जापान बसेर फर्किनु भएको रहेछ वहाँको जापान बसाइका भोगाई र अनुभव सुन्दै, कवि रुबि सत्यालका साथै स्वयं पनि लामो समय जापान बसेर फर्किएको कारणले प्रायः समान अनुभूतिहरुको बिनिमय गर्दै त कहिले साहित्य, समसामयिक राजनीति, समाज, धर्म, दर्शनका बारेमा छलफल गर्दै अघि बढ्ने क्रममा साथीहरुले ल्याउनुभएका लड्डुदेखि अष्ट्रेलियाको कोसेलीसम्म खाइसकेका थियौँ । तिरूपतिको प्रसादले आँत शीतल बनाइरहेका थियौँ ।कतिबेला थाना भन्ज्याङ पुगिएछ पत्तै पाइएन।जीवनमा यात्राका लागि समय आफैं निस्कदैन, आफैले समय निकाल्न सक्नुपर्छ । हाम्रा छेउछाउका मित्रहरु सवै जना नयाँ नै थियौं एकअर्कामा पूर्व परिचित थिएनौं तर पनि एकै यात्राको छोटो बसाइमै हामी वर्षौंदेखिका घनिष्ठ मित्रतामा समाहित भइसकेका थियौं भन्ने प्रतित भइरहेको थियो । यी सबै यात्राको विशेष उपलब्धि मान्न सकियो ।
हामीहरु आफ्नै सुरमा, गन्तव्यको बाहक(गाडी)आफ्नै सुरमा । शिवपुरीको सुरम्य वातावरणलाई अघाऊंजी दृष्यपान गर्दै अघि बढ्ने क्रममा गाडीले थाना भञ्ज्याङमा घचक्क ब्रेक लगायो । शिवपुरी राष्ट्रीय निकुंजको उकालोमा धापिएको गाडीले एकैछिन आफूलाई विश्राम दियो र सबै ओर्लियौँ पनि । चैतको घमाइलो बिहानी आँखाले भ्याएसम्मका रमणीय वस्तिहरु मनोहर देखिंदै थियो । गाडीबाट ओर्लिएर फ्रेस हुँदै कच्याक कुचुक परेको खुट्टा तन्काउन पाइयो । सफा प्राकृतिक रमाइलो वातावरणमा पुगेको प्रमाण सुरक्षित गर्नतिर मित्रहरु क्यामेराको सहारा लिन थाल्नुभयो भने कोही सामूहिक त कोही सेल्फी मोडमा । त्यसो त घुमफिर गर्ने भनिसकेपछि हाम्रा सुषुप्त अवचेतनमनले उमंग संचारित गरिसकेकै हुन्छन् प्रफुल्लित नहुने त कुरै भएन, खुवै रमाइयो ।

गीता ज्ञानानुसार अर्जुन जस्तो जितेन्द्रिय विजेता महापुरुषको मन त चञ्चल भयो प्रभु ! भनिरहन्थे म बबुरोको के कुरा भयो र ? गन्तव्यतर्फ जान बाटो ओरालो थियो । गाडीको रफ्तार भन्दा मनको रफ्तार कैयौं गुणा तेज गतिमा कुदिरहेको थियो ।गाडीसँगै मनमा सोचहरू दौडिरहेझैँ छेउछाउका दृश्य पनि पछि-पछि छोडिंदैछन् लाग्थ्यो कि यी निर्जीव बाटाघाटा पहाडहरु नै कुदिरहेछन् । सवै आ-आफ्नै तालमा दङ्ग कोही गाडीमा बजिरहेको ‘’उकाली ओराली गर्दै ‘’गीतमा झुमिरहेका त कोही आफ्ना अनुभूति सुन्न सुनाउनमा ब्यस्त देखिन्थे । म भने दलिनचौरको पाखाबाट पर पर आँखा फ्यांकिरहेको थिएँ । आधुनिकताले गाऊँको मौलिकतालाई खर्लप्प निल्ने क्रममा रहेछ। बाँकी रहेका केही पुराना संरचनाहरु पनि आँखा बिझाउने जस्तापाता ओढेर ठिङ्रिङ्ग उभिरहेका जस्ता देखिन्थे । मनमनै सोचें आधुनिकताको नाममा आजकल गाऊँले पनि कमेरे उज्यालो बिर्सन थालेछ मौलिक पहिचान गुमाउन थालेछ । काफलडाँडा पुगेपछि हामी चढेको बस टक्क रोकियो । स्रष्टा पदयात्रा टोलीमा सामेल हुन सर्जक गंगा दाहाल सोही बस चढ्नुभयो । हामीहरु सबैले वहाँलाई हार्दिकताका साथ स्वागत गर्यौं । यात्रा पुनः सुचारू भयो । वहाँले घरबाट उसिनेर ल्याउनु भएको आलु बॉड्नुभो । जीवन संघर्षको क्रममा कयौंपटक आलु खान बाध्य भएका हामी सबैजसो आलु खाएर तृप्त भयौं । गाऊँवस्ति लियाल्ने क्रममै विकासका नाममा डाँडाकाँडामा बाटो खनेर प्रकृतिमाथिको अत्याचारले कुरुप पारेको दृश्यले मनै अमीलो बनायो डाँडापाखाबाट समथर स्थानमा वस्ति बसाई प्रकृतिको संरक्षण गर्न सकेमा प्राकृतिक सौंदर्यमा निखार आउंथ्यो होला ।
कुनै पनि अंचल र अंतर्राष्ट्रीय सिमानासँग नजोडिएको नुवाकोट जिल्ला बिशेषत: पहाडी जिल्लाको रुपमा परिचित भएपनि नुवाकोट फाँट र आसपासका सिम खोल्सीतिर उष्ण हावापानी भएकोले होला किसानहरु धर्ती सिंचित गरी धान रोप्न जुटिरहेका देखिन्थे ।मांनु रोपेर मुरी फलाउने अभियानमा जुटेका ती किसानहरुको अन्नभण्डार भरिएर सारा मानव र चराचर जगतलाई तृप्त पार्ने महानतम कर्म संझिएर पौरखी किसानहरुप्रति मनमनै श्रद्धा बढेर आयो । प्रकृतिसंगको साक्षात्कार गर्दै थानापति हुंदै अघि बढ्दै थियौं । साथिहरु गफिंदै रमाईरहनुभएको थियो ।अघि बढ्ने क्रममा त्रिशुलीको सहायक नदीको रुपमा परिचित लिखु खोला अलि पर छेउमा बगिरहेको देखियो । चितवनस्थित पवित्र देवघाटधाममा पश्चिमबाट बगेर आउने कालीगण्डकी उत्तर-पश्चिमबाट आउने सेतीगण्डकी, उत्तरबाट आउने त्रिशुली र बुढीगण्डकी , मर्स्याङ्दी मादी र दरौंदीको संगम पश्चात सप्तगण्डकी कहलाउनुका साथै यी सबै सागरमा गएर मिसिने भएकोले सागरको शिरोभाग सम्झंदै लिखु खोलालाई भावनामा हर गङ्गे.. भन्न पुगेछु तर यथार्थमा गाडी थानसिङबाट ढिकुरे,विदुर हुंदै बेत्रावती तिर लम्किसकेछ । नेपथ्यमा जस्तै साथिहरु गुप्तेश्वर मन्दिर जाने बाटो देखाउँदै कुराकानी गर्दै थिए म आफू भने कल्पनाको संसारमा हराईरहेको थिएँ ।
उत्तरगयाको नामले प्रख्याती पाएको बेत्रावति पुगेपछि हामी सबै गाडीबाट ओर्लिएका मात्रै थियौं साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमी हार्दिकताको आँखा बिछ्याएर स्वागतार्थ प्रतिक्षा गरिरहनु भएको रहेछ । वहाँको न्यानो आतिथ्यता ग्रहण गर्दै अभिवादनको (आदान-प्रदान) पश्चात उत्तरगया मन्दिर दर्शनले पुण्यानुभूतिको महशूष गरी पूर्वजूनीको पुण्यका प्रभावले यस पवित्र धार्मिक तीर्थस्थलमा पुग्न पाएकोमा उनै परमकृपालु भक्तवत्सल भगवानको चरणमा कोटी वन्दना गरी पवित्र त्रिशुली नदीमा पुगि दिवंगत पितृलाई जलार्पण गरी साथिहरुसंग स्मृतिको पानामा सम्झना सुरक्षित राख्न सामूहिक फोटो खिच्ने कर्म पूरा गरियो ।
पवित्र त्रिशूली तथा बेत्रावति नदीको धार्मिक महत्व
………….
पौराणिक आख्यान अनुसार भगवान शिवका अवतार मानिने महर्षि दुर्वासा अत्रि र अनुसूयाका पुत्र थिए ।महर्षि दुर्वासा सनातनी संसारका त्यस्ता पात्र थिए,जसको श्रापले तीनैलोकमा श्रृजनशिलताको विकास भयो । उनको श्रापकै कारण देवराज इन्द्रले आफ्ना वासस्थान समेत गुमाएर श्रीहीन (ऐश्वर्य, धन, वैभव आदि) भएका देउताहरुलाई बांच्न र बचाउनका लागि अमृतपान गराउने सूत्रपात विष्णुतत्वले देवहरुलाई सल्लाह दिएपछि वासुकिको नेति , सगरमाथाको मदानी बनाई समुद्र मन्थन हुंदा १४ रत्न निस्केसंगै हलाहल बिष समेत निस्कियो । देउताहरुले अमृत पान त गरे तर हलाहल बिषपान गर्ने सामर्थ्य नराखेपछि आशुतोष भगवान भोलेनाथले हलाहलको प्रभावबाट संसारको रक्षाका खांतिर त्यसलाई ग्रहण गर्नुभयो र नीलकंठेश्वरको रुपमा रहनु भयो भने एकापसका दुश्मन देव र दानव दुवैलाई समुन्द्र मन्थन गर्ने कार्यमा एकठाउंमा उभ्याएर सामूहिक रुपमा कर्म गर्न महर्षि दुर्वासाको भूमिकाले अभिप्रेरित गराएको पाइन्छ , भने हलाहल बिषको प्रभावले रन्थनिएका भगवान भोलेनाथले आफ्नो त्रिशुलबाट त्रिशुली गंगा र बेतको लौरोबाट बेत्रावती गंगा उत्पन्न गरी चराचर जगतको कल्याण गर्नुभएको कृपास्वरुपको नदीमा स्नान गर्नुको धार्मिक महत्व बुझ्न नसकी धर्मभीरु हामी नेपाली तीर्थाटनका लागि गया काशीको चक्कर लगाउनु भनेको कस्तुरीले आफ्नो नाभिमा रहेको सुगन्धको चाल नपाएर रनवन भौंतारिनु जस्तै हो।

सुनको कचौरी बोकेर भीक्षाको याचना गरे जस्तो हाम्रा ऐतिहासिक पौराणिक र धार्मिक महत्वका स्थानका बारेमा खोज अनुसंधान गर्ने जरुरी कहिल्यै नठानिएको हुनाले बिलुप्त भएको धार्मिक पुण्यभूमीको महत्वका बारेमा सिद्ध महापुरुष,धार्मिक अभियन्ता राष्ट्रगुरू योगी नरहरिनाथले २०४७ सालतिर १०८ पण्डित ,१०८ लामा तथा १०८ कन्या राखेर बृहद् कोटिहोम महायज्ञ लगाई यो ठाउँको धार्मिक महत्वलाई उजागर गरिदिनु भएपछि स्थानीयबासीहरुलाई यस दिव्यस्थानको महत्वका बारेमा जानकारी भएको पाइन्छ । त्यसैले भनिन्छ,आजकल गया काशीतिर पितृ उद्धारका कार्य गर्दा त्यहाँका पण्डाहरुले उत्तरगयामा पिण्डदान दिए नदिएको सोधखोज गर्ने गर्दछन् ।यस्तो पवित्र र पुण्य भूमिमा टेक्न पाएकोमा आफूले पूर्वजन्ममा गरेको पुणयको प्रभाव बाहेक अरु केही हुन सक्दैन भन्ने मनन् गर्दै यो अकिञ्चन प्राणीको जीवनले सार्थकता पाएको महसुस भयो ।आफूले आफैंलाई धन्य सम्झिएँ मैले । पदयात्रा भनेको हिंड्नु मात्रै होइन,जनजीवन रहनसहन ऐतिहासिक धार्मिक र सांस्कृतिक अध्ययन गर्नु पनि हो ।
बेत्रावतीको ऐतिहासिक महत्व
………….
नेपाल र भोटका बीचमा परापू्र्व काल देखिनै व्यापारीक सम्बन्ध रहीआएको भएपनि लिच्छविकालमा नेपालका प्रतापी राजा अंशु वर्माले दुई देशबीचको आपसी सम्बन्ध पारिवारिक रुपमा पनि मजबुत बनाउने उद्देश्यले आफ्नी छोरी भृकुटीको बिवाह तिब्बती राजा स्रंगचोङ् गम्पोसंग गरिदिएपछि सुमधुर सम्बन्ध बनेको थियो । तर पनि बेलाबेलामा नेपाल र तिब्बतबीच खटपट नभएका भने होइन । त्यसैका कारणले इतिहासमा धेरैपटक नेपाल र तिब्बतबीच घमासान युद्ध भएका छन् ।युद्धका क्रममा कतिपटक नेपाली फौजले हिमाली भञ्ज्याङहरू सीमा नाघी तिब्बतको सिगात्से र डिगर्चा गुम्बासम्म आधिपत्य जमाएको गर्विलो इतिहास भएपनि तिब्बतका श्यामर्पा लामालाई नेपालले राजनीतिक शरण दिएपछि चर्किएको विवादको परिणाम स्वरूप पुनः नेपाल भोट युद्ध भएको र यसपटक तिब्बतले ठूलो संख्यामा सैनिक सहयोगसहित चीनको सहयोग प्राप्त गरि केरुङमा आक्रमण गरेकाले नेपाली सेना पछि हट्न बाध्य भई रसुवागढी र त्याहाँबाट पनि दपेट्न सुरु गरेपछि त्यहाँबाट क्रमश: पछि हटेर टिमुरे रसुगढी धुन्चे फर्किएको थियो नेपाली फौजले पटक पटक तिब्बती फौजलाई किंचित् परास्त गर्न सफलता प्राप्त गरेपनि चीनको बिशाल फौजको सहयोगमा तिब्बतीहरुले प्रत्याक्रमण गर्न थालेपछि दुई पक्षबीच घमासान लडाइँ चल्दै जाँदा चिनियाँ सेना बेत्रावती पारि आइसकेका थिए। उनीहरूलाई बेत्रावती नाघ्न नदिने उद्देश्यले आवश्यक योजना बनाउन बहादुर शाह स्वयं नुवाकोट पुगेका थिए । मध्य वर्षातमा बेत्रावतीमा डरलाग्दो भेल बगिरहेको थियो। चिनियाँ सेनामा पनि रसदपानीको अभाव हुन थालेको र नेपालले बिशाल चिनियाँ सहितको तिब्बती सेनाबाट देशको अस्तित्व जोगाउन सन्धि-सम्झौता गर्नु उपर्युक्त सम्झिएर बेत्रावतीमा सन्धि गरि चिनियाँ सेनापति तुङ थ्वाङ आफ्नो सेना लिएर वि.सं. १८४९ भदौ ११ मा स्वदेश फिर्ता हुनुरेको गर्विलो इतिहासको स्मरण गर्दै वेत्रावती प्रहरी चौकीको सम्योजनमा साहित्य संगम नुवाकोट द्वारा तयार पारिएको सहभोजनमा सम्मिलित भएको थियो ।
सहभोजनपश्चात् स्रष्टा पदयात्रा टोली साहित्य संगम नुवाकोटद्वारा आयोजना गरिएको प्रहरीसंग एकदिने रचनावाचन कार्यक्रममा सहभागीता जनाएको थियो । काठमाण्डौबाट एकत्रित भएका ३७ जना साहित्यकारहरूको समूह त्यसतर्फ प्रस्थान गरी उक्त कार्यक्रममा सम्मिलित भएको थियो । पदयात्राका क्रममा साहित्य सम्मेलन गर्दै प्रहरीसंग एक दिने रचना वाचन कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा स्रष्टा पदयात्री डा. धनप्रसाद सुवेदी, पदयात्राको यात्रा संस्मरण कृतिमा स्नातकोत्तरमा शोधपत्र तयार गरेका मनोज दाहाल र स्रष्टा पदयात्राको लोगो बनाउने कलाकार काजी रानालाई अभिनन्दन-सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा उपत्यकाबाट स्रष्टा पदयात्री डिल्लीराज अर्याल, शीतल गिरी, एन.बी. जनकपुरी, माधव घिमिरे ‘अटल’ ,घनश्याम प्रसाईं,गंगाप्रसाद भेटवाल, मन्दिरा मधुश्री, खोलाघरे साहिंलो ,परशुराम पराशर, सुमन पुडासैनी, यशोदा घोरसैनी, लीलाराज दाहाल, शान्ति सापकोटा, अप्सरा दाहाल, मनोज दाहाल, काजी राना, डा. धनप्रसाद सुवेदी, रामकुमार पंडित, सुनिता पण्डित माधवलाल श्रेष्ठ, डा.यादेवी ढकाल, जयराम बिडारी,डा. नेत्र एटम ऋचा, असिम सागर, बखत बहादुर थापा, बुद्धि सागर पौडेल, गीता रेग्मी,सृजना शर्मा, नगाधिराज, प्रभा बराल, कुमार कोइराला, गीता निरौला भण्डारी, रुबी सत्याल बिडारी ,दीपक भेटवाल ‘दीपसागर’,नुवाकोटका साहित्यकार शम्भु गजुरेल, गंगा आचार्य लगायतको सहभागिता रहेको थियो ।
प्रहरीसँग एकदिने रचनावाचन कार्यक्रम बेत्रावती प्रहरी कार्यालयकै सभाहलमा सम्पन्न गरिएको थियो । आम जनमानसमा कानून कार्यान्वयनमा कठोर रूपमा प्रस्तुत हुने प्रहरी पनि आखिर मान्छे नै हो, उभित्र पनि आम मानिसमा झैँ काव्यिक भाव रहन्छ । कानून कार्यान्वयन पेशागत कर्तव्य हुँदाहुँदै पनि मानवीय सम्वेदना लगायत सृजनशील कर्ममा पेशाले कुनै असर पार्दैन,रोकिँदैन छेकिँदैन भन्ने प्रमाणित भएको कुरा सहभागीहरूले बताए ।
उत्तरगया गाउँपालिका-५ बेत्रावतीका वडाध्यक्ष यमनाथ आचार्यको प्रमुख आतिथ्य, साहित्यकार छत्रबहादुर खड्काको सभापतित्व, विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी एवं साहित्यकार तथा स्रष्टा पदयात्राका संयोजक शीतल गिरी र साहित्य संगम नुवाकोटकी अध्यक्ष एवं साहित्यकार सुमित्रा ‘सुमी’को आतिथ्यमा सम्पन्न गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख ,विशेष र अतिथिहरूले ब्यानरमा हस्ताक्षर गरी सम्पन्न गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौंबाट गएका र स्थानीय स्रष्टाहरू द्वारा रचनावाचन गरिएको थियो । जसमा-सन्दीप सापकोटाद्वारा मुक्तक, माधव घिमिरे मुक्तक तथा गजल,शान्ति सिग्देलद्वारा – “वसन्त” कविता, सागर न्यौपानेद्वारा गजल, भगवती लामाद्वारा मुक्तक, शम्भु गजुरेलले मुक्तक, रूपा थापाले गद्यकविता, उद्घोषक कवीन्द्र घिमिरेले गजल, नगाधिराज -कविता “ए काल लैजा”, शान्ति सापकोटाको कविता “जीवनसार”, लीलाराज दाहालले गजल, माधव घिमिरे अटलले “पृथक परिदृश्य” गद्यकविता, खोलाघरे साहिँलोद्वारा वसन्ततिलकामा रचित छन्दोबद्ध मुक्तकहरू, गंगाप्रसाद भेटवालद्वारा ”कहाँ छ हाम्रो देश” कविता, प्रभा बरालद्वारा ”आमाको दैनिकी” कविता असीम सागरद्वारा ”पृथ्वी रहुन्जेल त हामी रहौँला त्यसपछि ? गद्यकविता, अप्सरा ढकालद्वारा ”मलाई यस्तै लाग्छ” गद्यकविता, ऋचाको ”भोकको कर्तव्य”, घनश्याम प्रसाईं” उठ किसान दाजुभाइ अौजार बोकी हातमा सरकार छैन हाम्रो साथमा” गीत, छवि ओझाद्वारा ”नारीलाई सन्देश” कविता सुमित्रा ‘सुमी’ ले’’जन्मघर छोड्दा” कविता वाचन गरेका थिए ।
साहित्यिक कार्यक्रम समापन पश्चात् पदयात्रा टोली गाडी चढेर नुवाकोट दरवारको अवलोकन भ्रमणका लागि बिदुरबाट जंगलको हरियाली उकालो बाटो हुँदै नुवाकोट दरवार तर्फ मोडियौं । २०७२ सालको भूकम्पले केही क्षति पुगेको दरवारको पुनर्निर्माण गर्ने ठेक्का चिनियाँ कम्पनीले पाएको रहेछ, निर्माणकार्य करिव पूरा हुने चरणमा रहेछ । आधुनिक नेपालको थालनी भएको नुवाकोट जिल्ला कब्जा गर्न बि.सं.१८०१ मा बडामहाराजधिराज पृथ्वी नारायण शाहले तीन दिशा- तीनधारा दिशाबाट स्वयंले,गेर्खु दिशाबाट काजी कालु पाँडे सम्मिलित फौजको नेतृत्व राजकुमार दलमर्दन शाहले र, धरमपानी दिशातर्फको नेतृत्व राजकुमार महोद्दामकीर्ति शाहले गरेर विजय प्राप्त गरी हालको विशाल देशको श्रीगणेश गर्नु भएको ऐतिहासिक पृष्ठभूमिले आज हामी नेपाली भनेर गौरवान्वित भइरहेका छौं । सम्झनास्वरूप दरवारक्षेत्रमा केही क्षण फोटोसेसन गरी भैरवी मन्दिरको दर्शन गरी कृतकृत्य हुँदै दरवार क्षेत्रबाट चारैतिरका मनेरम प्राकृतिक सौन्दर्य हेर्दै प्रतिकुल मौसमको आँकलन गरेर केही तल झरेर गाडी चढेर काठमाण्डौ तर्फ सोझियौं । साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीको नेतृत्वमा दरवार अवलोकन गर्न पाएकोमा दङ्गदास भएका हामीले बिदुर पुगेर उहाँलाई कृतज्ञता सहित विदा भयौं । भ्रमण तालिकानुसार देवीघाट जाने कार्यक्रम पनि रहेको थियो तर समय घर्किसरेको र सवैलाई काठमाण्डौ फर्किनु पर्ने भएकोले त्यो भने पूरा हुन सकेन ।
गाडी फेरि काठमाण्डौ तर्फ सोझियो । बाटामा साथीहररू आ-आफ्नै तरिकाले विमर्श गरिरहनु भएको थियो सबैको विचार सहजै श्रवणगर्न सकिने अवस्था थिएन मानौं विभिन्न फ्रिक्वेन्सी जुधेर अस्पष्ट भएको च्यानल जस्तै, हामी, डा.यादेवी ढकाल, खोलाघरे साहिंलो डा.धनप्रसाद सुवेदीहरू साहित्यिक विमर्श लगायत कवि रुबि सत्यालद्वारा निर्माण गरिएको सर्वहितकारी आयुर्वेद चूर्णको विषयमा चर्चा परिचर्चा गर्दा गर्दै पुनः थानाभन्ज्याङ आइसकेछौं । साँझको जाडो जाडो मौसममा सवैजनाले चियानास्ता गरी पुनः गाड़ी चढेर काठमाण्डौ आइपुग्यौं । बिहान सामाखुसीबाट बस चढ्नु भएका लगायत केही साथिहरू त्यतै झरेर आ-आफ्ना गन्तव्यतिर लाग्नु भयो भने हामी ओम हस्पिटलको अगाडि झरेर बिहान विसाएको मोटरसाइकल चढेर पुनः आफ्नो कुटीतिर प्रस्थान गर्यौं र यात्रालाई बिट मार्यौं,अस्तु !***

