भक्त रसाइली
पिबिएम अखिल नेपाल कम्युनिस्ट पार्टी
एक पछि अर्को दलित माथी जातीय हिंसा र अत्याचारको घटना घटिरहेको छ। कहिँ मन्दिर प्रवेश गर्यो भन्ने नाममा। कहिँ पानीको धारा छोयो भन्ने नाममा। कहिँ अन्तर्जातिय प्रेम र बिबाह गर्यो भन्ने नाममा। जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको भनिएको हाम्रो देश नेपालमा संविधानत: जातीय छुवाछूत एक दण्डनीय अपराध मानिएको हाम्रो देश नेपालमा किन यस्तो जघन्य आपराधिक घटनाहरु घटिरहेका छन् ? दलित माथी हुने यस्ता जघन्य अपराध घटिरहनुमा सर्वप्रथम त राज्यद्वारा संबैधानिक र कानुनी प्रावधान अनुरुप अपराधीहरुलाइ कडाइसाथ कानुनी कार्वाही नगरिनु जिम्मेवार छ र अर्को विभिन्न राजनीतिक दलमा बिभाजित हामी दलितहरु साझा मुद्दामा एकजुट भएर त्यस्ता आपराधिक क्रियाकलापको विरुद्ध सशक्त संघर्ष गर्न नसक्नु जिम्मेवार छ।
राज्य संयन्त्र दलितको मुद्दामा पुरै उदासीन छ। निष्पक्ष र स्वतन्त्र न्यायलय भनिने अदालत समेत जातीय छुवाछूतपुर्ण हिंसालाई जातीय छुवाछूतपुर्ण हिंसा देख्दैन। गृह मन्त्रालय जस्तो देशको गृह प्रशासनको कमाण्डिङ नेतृत्व सम्हालेको गृहमन्त्रीले समेत राज्यशक्तिको दुरुपयोग गर्दै जातीय विभेदजन्य आपराधिक क्रियाकलाप गर्न पुग्नुले दलित माथिको अत्याचारको पराकाष्ठालाई बडो विकृत ढंगले उजागर गरेको छ। यसका विरुद्ध सशक्त ढंगले संघर्षमा उत्रनु पर्ने संयुक्त राजनीतिक दलित संघर्ष समिति केवल ज्ञापन पत्र जो बिन्ती भाउको शैलीमा र अनुनय विनयको शैलीमा बुझाउँदै विश्राम लिन्छ। अपराधी जो सिंहासनमा मात्र होईन इन्द्रासनमा बसेको भएपनि थुतेर कार्वाही गर्न र गराउनु पर्छ भन्ने मान्यताबाट च्युत हुन्छ संयुक्त राजनीतिक दलित संघर्ष समिति। सत्यन्द्र कुमार राम र नेहा रौनियार बीचको प्रेम बिबाहमा गृहमन्त्री रमेश लेखकले गरेको जातीय विभेदजन्य ज्यादती र अत्याचारको विषयलाई तनहुँ जिल्ला स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समितिको तर्फबाट पनि गृहमन्त्री रमेश लेखकको राजीनामा र बर्खास्तगीको माग सहित एउटा बिरोध जुलुसको कार्यक्रम राखौं भन्ने मेरो प्रस्तावलाई संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँका अध्यक्ष एवं नेपाली काङ्ग्रेस तनहुँका नेता डोवाटे वि. क. ले पुरै बेवास्ता र इन्कार गर्नुभयो। अहिले रुकुमको नवराज वि. क. लगाएतको हत्याकाण्डमा सुर्खेत उच्च अदालतको न्यायाधीशले गरेको अन्यायपुर्ण फैसलाको विरुद्ध जिल्ला जिल्लाबाट विरोध र संघर्षको कार्यक्रमको आयोजना गर्नुपर्ने हो। तर त्यस्तो भैरहेको छैन। तनहुँ जिल्ला संयुक्त राजनीतिक दलित संघर्ष समिति जो डोवाटे वि. क. को नेतृत्वमा छ, त्यो त झन तयार हुने कुरै भएन!!! आवश्यक परेको बेलामा र निर्णायक संघर्षको घडीमा पछि हट्ने तनहुँ जिल्ला स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति विघटन गर्दै दलित माथी हुने जातीय अत्याचारका घटनामा सशक्त संघर्ष गर्न तम्तयार हुने आम दलितहरुको अर्को साझा दलित संघर्ष समिति निर्माण गर्दै अगाडि बढौं। दलित माथीको जातीय विभेद र अत्याचारको अन्त्य गर्ने संघर्ष बाहेक अर्को कुनै बाटो छैन भन्ने कुरा बुझौं।

