–विश्वनाथ खरेल
नेपाल, हिमालय पर्वतमालाको मुटुमा अवस्थित एक सानो तर विविधतापूर्ण देश हो । यो देश भौगोलिक रूपमा अत्यन्त संवेदनशील छ । किनकि यो भारतीय प्लेट र युरेसियन प्लेटको टक्कर क्षेत्रमा पर्छ । यो टेक्टोनिक प्लेटहरूको गतिविधिका कारण नेपाल विश्वको सबैभन्दा बढी भूकम्पीय जोखिमयुक्त देशहरू मध्ये एक हो । विगतका शताब्दीहरूदेखि नै नेपालले विभिन्न ठूला भूकम्पहरूको सामना गर्दै आएको छ । जसलेगर्दा लाखौं जीवनहरू लुटेको छ, सांस्कृतिक सम्पदाहरू नष्ट गरेको छ र देशको अर्थतन्त्रलाई ध्वस्त पारेको छ । यी भूकम्पहरूको सम्झना नेपाली जनजीवनमा गहिरो रूपमा बसेको छ । ती केवल प्राकृतिक विपत्ति मात्र होइनन्, बरु इतिहास, संस्कृति र सिकाइका पाठहरू पनि हुन् । यो अर्थमा हामी नेपालको भूकम्पीय इतिहासलाई विगतदेखि वर्तमानसम्म समेट्नेछौं । प्राचीन कालदेखि २०२३ सम्मका प्रमुख भूकम्पहरूको वर्णन गर्दै, तिनका प्रभावहरू, नेपाली समाजमा तिनका सम्झनाहरू र वर्तमानमा भूकम्पीय तयारीका बारेमा चर्चा गर्नेछौं । यो अर्थमा भन्ने नै हो भने जसरी नेपाली जनताको दुःख, संघर्ष र आशालाई प्रतिबिम्बित गर्दछ । नेपालको भूकम्पीय इतिहासले हामीलाई सिकाउँछ कि प्रकृति शक्तिशाली छ । तर मानवीय तयारी र एकताले त्यसलाई सामना गर्न सकिन्छ ।
विगतका भूकम्पहरूः प्राचीन कालदेखि १९ औं शताब्दी सम्म
नेपालको भूकम्पीय इतिहास धेरै पुरानो छ । लिखित अभिलेखहरू अनुसार, पहिलो दर्ज गरिएको भूकम्प सन् १२५५ ईस्वी (१३१० विक्रम संवत्) मा भएको थियो । यो भूकम्पको तीव्रता ७.८ म्याग्निच्युडको थियो र यसले काठमाडौं उपत्यकामा ठूलो विनाश गरेको थियो । इतिहासकारहरूका अनुसार, यो भूकम्पले राजा अभय मल्लको ज्यान लिएको थियो र उपत्यकाको एक तिहाइ जनसंख्या नष्ट भएको थियो । धेरै मन्दिरहरू र घरहरू ढलेका थिए, र १५ दिनसम्म निरन्तर कम्पनहरू आएका थिए । यो घटनाले नेपाली इतिहासमा पहिलो ठूलो भूकम्पको रूपमा स्थान पाएको छ । जसले तत्कालीन समाजमा महामारी र अनिकाल पनि निम्त्याएको थियो । नेपाली लोककथाहरूमा यो भूकम्पलाई देवताको क्रोधको रूपमा सम्झिने गरिन्छ । जसले धार्मिक विश्वासहरूलाई मजबुत बनाएको छ । त्यसपछि सन् १२६० ईस्वी (१३१६ विक्रम संवत्) मा अर्को भूकम्प आयो, जसको तीव्रता ७.१ म्याग्निच्युड थियो । राजा जयदेव मल्लको शासनकालमा भएको यो भूकम्पले ठूलो संख्यामा मानिसहरूको ज्यान लिएको थियो र महामारी तथा अनिकाल फैलाएको थियो । घरहरू र सांस्कृतिक सम्पदाहरूमा ठूलो क्षति पुगेको थियो । यो भूकम्पले नेपाली समाजमा डरको वातावरण सिर्जना गरेको थियो । जसले पछि निर्माण प्रक्रियामा केही परिवर्तनहरू ल्याएको देखिन्छ, जस्तै मजबुत संरचनाहरू बनाउने प्रयासमा जोड दिदैं आएको छ ।
सन् १४०८ ईस्वी (१४६३ विक्रम संवत्) मा भएको ८.२ म्याग्निच्युडको भूकम्प राजा श्याम सिंहको शासनकालमा भएको थियो । यसले मच्छेन्द्रनाथ मन्दिर लगायत धेरै संरचनाहरू नष्ट गरेको थियो । जीवन र सम्पत्तिको ठूलो हानि भएको थियो । यो भूकम्पले नेपाली इतिहासमा सांस्कृतिक सम्पदाको विनाशको रूपमा सम्झना बसेको छ । जसले पछि मल्ल कालीन कला र वास्तुकलामा प्रभाव पारेको थियो । त्यसैगरी सन् १६८१ ईस्वी (१७३७ विक्रम संवत्) मा ८.० म्याग्निच्युडको भूकम्प राजा श्री निवास मल्लको समयमा भएको थियो । यसले धेरै भवनहरू ढालिदिएको थियो । यो घटनाले नेपाली समाजमा भूकम्पीय चेतनाको विकास गरेको देखिन्छ । तर तत्कालीन प्रविधिको अभावमा पुनर्निर्माण कठिन भएको थियो । जबकी १९ औं शताब्दीमा नेपालले थप ठूला भूकम्पहरूको सामना ग¥यो । सन् १८१० ईस्वीमा भएको भूकम्पले काठमाडौं उपत्यकामा ठूलो क्षति पु¥याएको थियो । त्यसपछि सन् १८३३ ईस्वीमा ७.८ म्याग्निच्युडको भूकम्प आयो, जसले काठमाडौं उपत्यकालाई ध्वस्त पारेको थियो । यसमा ५०० भन्दा कम मानिसहरूको ज्यान गएको अनुमान छ, तर दुई ठूला पूर्वकम्पनहरूका कारण मानिसहरू सतर्क भएका थिए । यो भूकम्पले नेपाली इतिहासमा चेतावनीको रूपमा काम गरेको थियो । यी विगतका भूकम्पहरूको सम्झना नेपाली संस्कृतिमा गहिरो रूपमा बसेको छ । लोकगीतहरू, कथाहरू र धार्मिक अनुष्ठानहरूमा यी घटनाहरूलाई सम्झिने गरिन्छ । उदाहरणका लागि, काठमाडौंका मन्दिरहरूको पुनर्निर्माणले नेपाली कला र वास्तुकलाको विकासमा योगदान दिएको छ । तर यी सम्झनाहरूले नेपाली जनतालाई सधैं सतर्क रहन सिकाएको छ ।
२० औं शताब्दीका प्रमुख भूकम्पहरूः १९३४ को महान भूकम्प
२० औं शताब्दी नेपालको भूकम्पीय इतिहासमा सबैभन्दा दुखद काल हो । सन् १९३४ जनवरी १५ मा भएको बिहार–नेपाल भूकम्प (८.१ म्याग्निच्युड) नेपालको इतिहासमा सबैभन्दा विनाशकारी थियो । यसको एपिसेन्टर चैनपुर, संखुवासभा जिल्लामा थियो, तर यसले काठमाडौं उपत्यका र भारतको बिहारमा ठूलो क्षति पु¥यायो । नेपालमा ८,५१९ भन्दा बढी मानिसहरूको ज्यान गएको थियो । जबकि भारतमा हजारौं मरेका थिए । कुल मृत्यु संख्या १६,००० भन्दा बढी थियो । काठमाडौंमा २० प्रतिशत भवनहरू पूर्ण रूपमा नष्ट भएका थिए र ४० प्रतिशत क्षतिग्रस्त थिए । धेरै ऐतिहासिक मन्दिरहरू र दरबारहरू ढलेका थिए। यो भूकम्पले नेपाली अर्थतन्त्रलाई ठूलो धक्का दिएको थियो र पुनर्निर्माणमा वर्षौं लागेको थियो । यो भूकम्पको सम्झना नेपाली जनतामा अझै ताजा छ । धेरै परिवारहरूले आफ्ना पुर्खाहरूको कथा सुनाउँछन् । जसमा भूकम्प आएको समयमा भागेर ज्यान बचाएका घटनाहरू समावेश छन् । यो घटनाले नेपालमा भूकम्पीय अध्ययनको सुरुवात गरेको थियो । तर तत्कालीन राणा शासनमा पर्याप्त तयारी थिएन । सन् १९३४ को भूकम्पलाई महान भूकम्प भनेर सम्झिने गरिन्छ । जसले नेपाली समाजमा एकताको भावना जगाएको थियो । अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भएको थियो, जसले पुनर्निर्माणमा मद्दत गरेको थियो । सन् १९८० मा भएको भूकम्प (६.५ म्याग्निच्युड) ले पश्चिम नेपालमा प्रभाव पारेको थियो । यसमा केही मृत्यु भएका थिए ।

