धादिङ । माघे सङ्क्रान्तिको अवसरमा जिल्लाका विभिन्न स्थानमा सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुहरूलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जिल्लाभर यो परम्परा धुमधामका साथ सम्पन्न भएको हो।
आयोजकका अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४ हल, लाइगाउँमा १० हल, नीलकण्ठ नगरपालिका–९ धुवाकोटको खाल्टेमा सात हल, मर्स्याङछापमा पाँच हल, सुनौलाबजारमा आठ हल, खनियाबास गाउँपालिकाको दार्खामा १७ हल, मार्पकमा चार हल, फुलखर्कमा ११ हल, बुढाथुममा नौ हल र ज्वालामुखी गाउँपालिकाको मैदीमा छ हल गोरु जुधाइएको हो।
मूलपानीका स्थानीय शम्भु थापाका अनुसार हल गोरु जुधाएर आनन्द लिने यो परम्परासँग ऐतिहासिक महत्व जोडिएको छ। रसुवा, नुवाकोट र धादिङमा प्रचलित गोरु जुधाउने परम्परा नेपाल–तिब्बतबीच भएको भोट सन्धी १९४९ सँग सम्बन्धित रहेको विश्वास छ।
किम्बदन्तीअनुसार बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका लागि माघे सङ्क्रान्तिका दिन गोरु जुधाउने चलन सुरु भएको मानिन्छ।
बारीमा धुलो उडाउँदै ठूला जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि हजारौँ दर्शकको भीड लाग्ने गरेको छ।
सुरुमा छिमेकीबीच रमाइलोका लागि गरिँदै आएको गोरु जुधाइ पछिल्ला वर्षहरूमा प्रतिस्पर्धात्मक प्रतियोगिताको रूप लिन थालेको छ। उमेर र आकार मिलाएर गोरु छनोट गरिने प्रतियोगितामा पहिला भाग्ने गोरुलाई पराजित मानिन्छ।
वर्षभरि खेतबारी जोत्ने गोरुलाई हिउँदमा बलियो बनाएर मनोरञ्जनका लागि जुधाउने परम्परा अहिले भेटघाट, मेलमिलाप र मित्रता नवीकरण गर्ने अवसरका रूपमा विकसित हुँदै गएको मैदीकी सुशीला विश्वकर्माले बताइन्।
यद्यपि ऐतिहासिक लिखित प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा एक सय वर्षभन्दा पुरानो मानिन्छ। आज माघे सङ्क्रान्ति भन्नासाथ धादिङसहितका जिल्लामा गोरु जुधाउने दिनका रूपमा चिनिन थालेको छ।

