ललितपुर । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनको अवसरमा ललितपुर महानगरपालिकाले आज (बुधबार) स्थानीय सार्वजनिक बिदा दिएको छ।
वैशाख १६ गते परेको ‘नरिवल खसाल्ने’ परम्परामा नगरवासीको व्यापक सहभागिता रहने भएकाले महानगरपालिका तथा मातहतका सबै कार्यालय बन्द रहने महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
पुलचोकबाट सुरु गरिएको ३२ हात अग्लो रथमा विराजमान रातो मच्छिन्द्रनाथलाई गाःबहाल, मङ्गलबजार, सुनधारा हुँदै लगनखेलसम्म पुर्याउने परम्परा रहँदै आएको छ। त्यसपछि बलि पूजा सम्पन्न गरी भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाल्ने चलन छ।
धार्मिक परम्परा र सांस्कृतिक महत्त्वलाई सम्मान गर्दै महानगरपालिकाले विगत तीन वर्षदेखि ‘नरिवल खसाल्ने’ दिनलाई स्थानीय बिदाका रूपमा मान्यता दिँदै आएको जनाएको छ।
लगनखेल क्षेत्रमा सम्पन्न हुने यो परम्परा धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ, जसमा प्रत्येक वर्ष ठूलो संख्यामा श्रद्धालु तथा स्थानीयवासी सहभागी हुने गर्छन्।

