काठमाण्डौ – अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता भएका बुबाछोराको शव फेला परेको छ।
तुर्माखाँद–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको आइतबार शव फेला परेको हो। उनीहरू यही वैशाख ३ गते डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए।
कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर फर्कने क्रममा नदीमा डुङ्गा पल्टिँदा बुबाछोरा हराएका थिए।
सुर्खेतबाट आएको सशस्त्र प्रहरी नायब निरीक्षक चेतन राजकोटी नेतृत्वको गोताखोर टोली र नं ४९ गुल्म हेडक्वाटर खप्तड अछामबाट सशस्त्र प्रहरी सहायक निरीक्षक खेमराज खतिवडाको नेतृत्वमा खटिएको विपद् व्यवस्थापन टोलीले घटनास्थलबाट करिब ५०० मिटर टाढा पानीमुनि खोजी गरी शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

