काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी श्रद्धापूर्वक मनाइँदैछ।
वैदिक परम्पराअनुसार आज बिहान सबेरै उठी घर लिपपोत गरी स्नानपछि पूजा सामग्री तयार पारेर सङ्कल्प गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखी भगवान् विष्णुको विधिपूर्वक पूजा गर्ने चलन छ।
यस दिन पुरोहितको पूजा गरेर शुद्ध जलमा दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाई सर्वत तयार गरिन्छ। साथै जौँको सातुसहित घडा दान गर्ने परम्परा प्राचीनकालदेखि रहिआएको छ।
धर्मशास्त्रविद्का अनुसार वैशाखको गर्मीमा सातु र सर्वत अमृतसरह हुने भएकाले यसले शरीरलाई शीतलता दिनुका साथै ऊर्जा र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। यस दिन गरिएको स्नान, दान, जप र ध्यानजस्ता पुण्यकर्म कहिल्यै नास नहुने विश्वास पुराणहरूमा उल्लेख गरिएको छ।
आजको दिन सानो दानले पनि ठूलो फल प्राप्त हुने मान्यता छ। त्यसैले छाता, लौरो, जुत्ता, अन्न, गाई, जमिन तथा सुनजस्ता सामग्री दान गर्ने चलन रहिआएको छ। यस्तो दान ब्राह्मण मात्र नभई असहाय तथा विपन्न वर्गलाई पनि गरिन्छ।
धार्मिक विश्वासअनुसार सत्ययुगमा आजकै दिन भगवान् शिव र पार्वतीको विवाह भएको थियो भने त्रेतायुगको प्रारम्भ पनि यही तिथिबाट भएको मानिन्छ। त्यसैले आजको दिन विवाहका लागि विशेष साइत हेर्नु नपर्ने परम्परा पनि रहेको छ।
अक्षय तृतीयाको अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरूले पूजा, आराधना र दर्शन गरी यो पवित्र पर्व मनाइरहेका छन्।
Previous Articleअक्षय तृतीयाको शुभ मुहूर्त
Next Article डुंगा पल्टिदा कर्णालीमा बेपत्ता बुबाछोराको शव फेला

