काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा देशभरका करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ।
वैशाख ६ र ७ गते सम्पन्न अभियानअन्तर्गत २१ लाख बालबालिकालाई जुकाको औषधि र आठ लाख बालबालिकालाई ‘बालभिटा’ वितरण गरिएको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिए।
कार्यक्रममा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि तथा ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई ‘बालभिटा’ खुवाइएको थियो।
सरकारले बालबालिकामा आँखाको दृष्टि जोगाउने, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने, कुपोषण घटाउने तथा बालमृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
अभियानमा करिब ५० हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी परिचालित भएका थिए। सरकारले २०५९ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम र २०६७ सालदेखि जुकाको औषधि खुवाउने अभियान नियमित रूपमा कात्तिक र वैशाखमा सञ्चालन गर्दै आएको छ।

