काठमाडौँ । काठमाडौँ महानगरपालिका ले नयाँ बसपार्कबाट एकीकृत रूपमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न अन्तिम तीन दिनको समयसीमा दिएको छ। महानगरको सूचनालाई बेवास्ता गर्ने यातायात कम्पनीहरूलाई उक्त अवधिभित्र अनिवार्य रूपमा प्रणालीमा समेटिन चेतावनी दिइएको हो।
गत चैत २५ गते जारी सार्वजनिक सूचनामार्फत महानगरले लामो तथा छोटो दूरीका बस सेवा बसपार्कभित्रबाट सञ्चालन गर्न आग्रह गरेको थियो। सोही विषयमा प्रगति समीक्षा तथा आगामी कार्यान्वयन रणनीति तय गर्न आज कार्यवाहक प्रमुख सुनिता डंगोल को अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा नुवाकोटतर्फ सञ्चालन हुने यातायात कम्पनी सम्पर्कमा आए पनि धादिङतर्फका कम्पनीहरूले सूचनाको अवज्ञा गरेको जानकारी दिइयो। त्यस्ता कम्पनीलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम मौका दिइएको छ।
सहरी आवागमनलाई व्यवस्थित बनाउन कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशी लाई नेपाल प्रहरी सँग समन्वय गरी कडा अनुगमन गर्न निर्देशन दिएकी छन्।
बैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्की ले सहरी सुरक्षामा जनशक्तिभन्दा प्रविधिमै आधारित निगरानी प्रणाली विस्तार गर्नुपर्ने धारणा राखे। प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा ले गुण्डागर्दीविरुद्धको अभियानले अवैध गतिविधिमा संलग्नको संख्या घटेको बताए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी ले सडक अनुशासन कार्यान्वयनमा महानगर र ट्राफिक प्रहरीबीच थप समन्वय आवश्यक रहेको औंल्याए।
छलफलमा सार्वजनिक सवारीको पार्किङ, टिकट काउन्टर सञ्चालन, यात्रु चढाउने–ओराल्ने व्यवस्थापन तथा समग्र यातायात प्रणाली सुधारका विषय समेटिएका थिए।
प्रहरी नायव उपरीक्षक सुनिलजंग शाह का अनुसार काठमाडौँबाट दैनिक औसतमा करिब ७ सय सार्वजनिक सवारी साधन बाहिरिन्छन्, जसमध्ये झण्डै ३५० वटा बसपार्क बाहिरै पार्किङ र यात्रु ओसारपसार गर्छन्। यो अवस्था सवारी व्यवस्थापनका प्रमुख चुनौतीमध्ये एक बनेको छ।
ल्होत्से वहुउद्देश्यीय प्रालि का मानव संसाधन प्रमुख पङ्कज मल्ल का अनुसार हाल नयाँ बसपार्कभित्र ५७ वटा कम्पनीका सवारी सञ्चालनमा छन्। लामो दूरीका बसका लागि ९ घण्टाको पार्किङ शुल्क ४५० रुपैयाँ र मध्यम तथा छोटो दूरीका माइक्रोबसका लागि २२० रुपैयाँ निर्धारण गरिएको छ।
करिब १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा एकैपटक ७५० सवारी साधन व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ भने दैनिक औसत ३४० सवारी साधन आवतजावत गर्ने गरेका छन्।

