लुम्बिनी । बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु प्रकरणबारे छानबिन गरिरहेको नेपाल मेडिकल काउन्सिलको टोलीले आज काउन्सिलको केन्द्रीय कार्यालयमा प्रारम्भिक प्रतिवेदन बुझाएको छ।
उक्त घटनापछि काउन्सिलले चिकित्सकीय लापरबाही भएको वा नभएको विषयमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको थियो। समितिले सम्बन्धित अस्पताल, चिकित्सक तथा उपचार प्रक्रियासँग सम्बन्धित विवरण संकलन गरी प्रारम्भिक निष्कर्ष तयार पारेको जनाएको छ।
काउन्सिलका अनुसार प्रतिवेदनमा घटनाको प्रकृति, उपचारका क्रममा अपनाइएका विधि, चिकित्सकीय मापदण्ड पालना भए/नभएको लगायतका विषय समेटिएका छन्। यद्यपि, अन्तिम निष्कर्षका लागि थप अध्ययन आवश्यक रहेको जनाइएको छ।
सम्बन्धित पक्षसँग थप स्पष्टीकरण लिने र आवश्यक कागजात संकलन गर्ने काम जारी रहेको काउन्सिलले जनाएको छ। अन्तिम प्रतिवेदनपछि मात्रै घटनाबारे ठोस निर्णय सार्वजनिक गरिने बताइएको छ।

