काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका केही स्थानका साथै मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने बताइएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको छ।
आज राति भने देशका हिमाली तथा पहाडी भागमा सामान्य बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार देशभर तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँच क्षेत्रमा गर्मी बढ्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

