काठमाडौं । रौतहटमा आफ्नै बाबुको हत्या गरेको आरोपमा १८ वर्षपछि एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ निवासी ४९ वर्षीय राम बिलास महतो रहेका छन्।
प्रहरीका अनुसार २० जेठ २०६४ मा ६५ वर्षीय बिशेश्वर महतो मृत अवस्थामा फेला परेका थिए। उक्त घटनामा बाबुको हत्या गरेको आरोपमा त्यतिबेला ३१ वर्षीय रहेका राम बिलासलाई अहिले पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा बिशेश्वरले गाउँका विभिन्न व्यक्तिसँग ऋण लिएको र ती ऋणसम्बन्धी विवाद तथा जग्गा खिचलोका विषयलाई आधार बनाएर साहुहरूलाई ज्यान मुद्दामा फसाउने उद्देश्यसहित घटनाको योजना बनाइएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
यस घटनामा पक्राउ परेका राम बिलासमाथि ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीका प्रवक्ता विष्णु प्रसाद बस्यालले जानकारी दिए।

