काठमाडौँ । ओशो तपोवनका सञ्चालक तथा अध्यात्मिक चिन्तक बोधिसत्त्व स्वामी आनन्द अरुणलाई ‘शिखर अभिनन्दन’ प्रदान गरिने भएको छ । अध्यात्ममार्फत समाजमा चेतना, शान्ति र सकारात्मक मूल्य स्थापित गर्न पुर्याउनुभएको दीर्घकालीन योगदानको उच्च कदरस्वरूप सूचक प्रकाशनले आगामी माघ १० गते ओशो तपोवनमै पुगेर उहाँलाई अभिनन्दन गर्न लागेको हो ।
वि.सं. २००१ असार ३ गते धनुषा जिल्लामा जन्मनुभएका स्वामी आनन्द अरुणले पाँच दशकभन्दा बढी समयदेखि ओशोको दर्शन र ध्यानपद्धतिलाई नेपाली समाजमा फैलाउँदै आउनुभएको छ । उहाँको साधना, प्रवचन र लेखनले हजारौँ साधकहरूको जीवनमा चेतनाको दीप प्रज्वलित गरेको छ । उहाँको नेतृत्वमा स्थापना गरिएको ओशो तपोवन आज केवल ध्यान केन्द्र मात्र नभई सामाजिक रूपान्तरण, शान्ति र प्रेमको सन्देश प्रवाह गर्ने पवित्र तीर्थस्थलका रूपमा स्थापित भएको छ ।
अभिनन्दन समारोहलाई व्यवस्थित र गरिमामय रूपमा सम्पन्न गर्न समाजसेवी रामकुमार बानियाँ ‘कौशिक’को संयोजकत्वमा रामराजा बस्नेत, जयराम बिडारी र नवीन पल्लव सदस्य रहेको समिति गठन गरिएको छ । संयोजक कौशिकले यो अभिनन्दन औपचारिक कार्यक्रम मात्र नभई समाजले विशिष्ट योगदान दिने व्यक्तित्वप्रति सामूहिक श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा लिइने बताउनुभयो ।
सूचक प्रकाशनले हरेक तीन वर्षमा कला, संस्कृति, साहित्य, समाजसेवा, स्वास्थ्य, शिक्षा र अध्यात्मजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ७० वर्ष नाघेका व्यक्तित्वलाई ‘शिखर अभिनन्दन’ अर्पण गर्दै आएको छ । यसअघि सत्यमोहन जोशी, महाकवि माधवप्रसाद घिमिरे, डा. निरञ्जन पौडेल, भद्रकुमारी घले, प्रा.डा. प्रकट पोख्रेल तथा समाजसेवी दम्पती केदारनाथ र लीलादेवी श्रेष्ठलगायतका विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसकेका छन् ।
सोही दिन करिब एक दर्जन कविहरूले स्वामी आनन्द अरुणप्रति सम्मानस्वरूप रचना वाचन गर्ने कार्यक्रमसमेत रहेको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ले जानकारी दिनुभयो । रचना प्रस्तुतिका लागि प्रतिभा समन्वय समितिको संयोजक माइण्ड प्लसका प्रबन्ध निर्देशक नवीन पल्लव र प्रचारप्रसार समितिको संयोजक पत्रकार जयराम बिडारी रहनुभएको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा पत्रकार टिकाराम यात्री तथा कलाकार मनोज गजुरेलको समेत सहभागिता रहने भएको छ ।

