काठमाडौँ — निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिएको छ। शुक्रबार दुवै पक्षसँग छलफल गरेपछि आयोगले थापालाई सभापतिका रूपमा मान्यता दिने निर्णय गरेको हो।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम पार्टीको विवरण अद्यावधिक गर्दै थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिइएको हो। यस निर्णयसँगै नेपाली कांग्रेसको आधिकारिक नेतृत्वका रूपमा गगन थापा सभापति रहेको स्पष्ट भएको छ।
निर्वाचन आयोगबाट मान्यतासम्बन्धी जानकारी आएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताएका छन्। “आयोगले आधिकारिकता दिएको जानकारी दिनु भएको छ। हाम्रो साथी पत्र बुझ्न जाँदैछन्,” उनले नेपालखबरसँग भने।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन सम्पन्न भएको थियो। उक्त विशेष महाधिवेशनले थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो। आयोगको यस निर्णयसँगै नेपाली कांग्रेसभित्र देखिएको नेतृत्वसम्बन्धी अन्योल अन्त्य भएको र आगामी राजनीतिक गतिविधिमा पार्टी थप सक्रिय हुने अपेक्षा गरिएको छ।

