काठमाडौँ– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र तराई क्षेत्रमा मौसम प्रायः सफा रहने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँच क्षेत्रहरूमा आज गर्मी बढ्ने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तातो लहरको जोखिमसमेत देखिएको महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

