निःशुल्क आँखा शिविरमा सफल शल्यक्रियापछि ११ वर्षीया बालिकाले पुनः पाइन् दृष्टि
कालिकोट । कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि उज्यालो संसार देख्न पाएकी छन् । बाल्यकालमा लागेको चोटका कारण दाहिने आँखाको दृष्टि गुमाएकी उनले सफल शल्यक्रियापछि पुनः आँखाको ज्योति पाएकी हुन् ।
आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँचबाट टाढा र अभिभावकको साथसमेत पर्याप्त नपाएका कारण प्रियंकाले वर्षौँसम्म अन्धकारमा जीवन बिताउनुपरेको थियो । उनका बुबा रोजगारीका लागि भारतमा रहेकाले समयमै उपचार गराउन परिवारलाई सहज थिएन । यहीबीच जिल्ला आँखा उपचार केन्द्रमा सञ्चालित निःशुल्क आँखा शिविर उनको जीवनमा आशाको दीप बनेर आयो ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. हरि विक्रम अधिकारीको नेतृत्वमा गरिएको जटिल शल्यक्रिया सफल भएपछि प्रियंकाको आँखामा पुनः ज्योति फर्किएको हो । वैशाख १४ देखि १६ गतेसम्म सञ्चालित शिविरमा शल्यक्रियापछि पट्टी खोल्नेबित्तिकै उनी अत्यन्त उत्साहित देखिएकी थिइन् । खुसी व्यक्त गर्दै उनले भनिन्, “फेरि उज्यालो देख्छु भन्ने कल्पना पनि गरेकी थिइनँ ।”
नेपाल नेत्रज्योति संघ कालिकोटको आयोजना तथा सहयोगी संस्थाको आर्थिक सहकार्यमा जुम्लास्थित चन्दननाथ आँखा अस्पतालमा सम्पन्न उक्त शिविरमा तीन दिनसम्म ५ सय ८४ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये १ सय ७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । शिविरमा आएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।
दुर्गम कर्णाली क्षेत्रमा अझै पनि धेरै नागरिक सामान्य स्वास्थ्य सेवाबाट वञ्चित रहँदै आएका छन् । आर्थिक अभाव र भौगोलिक विकटताका कारण वर्षौँसम्म अन्धकारमा बस्न बाध्य नागरिकका लागि यस्ता स्वास्थ्य शिविर ठूलो राहत बनेका छन् । प्रियंकाको आँखामा फर्किएको उज्यालोले यस्ता अभियानले जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छन् भन्ने सन्देश दिएको छ ।

