काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वर्षौँको वैदेशिक रोजगारी अनुभवलाई बटुलेर गाउँमै फर्केर बाख्रापालन व्यवसाय सुरु गरेकी छन्।
चार वर्ष बेलायत तथा ११ वर्ष दुबई र कतारमा रोजगारी गरेकी केसीले अरूको काममा जीवन बिताउनुभन्दा आफ्नै देशमा केही सिर्जनात्मक र उत्पादनमुखी काम गर्ने सोचका साथ स्वदेश फर्किएको बताइन्। कृषि तथा पशुपालनप्रति बढ्दो आकर्षणले उनलाई गाउँ फर्किएर व्यवसायिक बाख्रापालनतर्फ डोर्याएको हो।
“अरूले गरेको कृषि तथा पशुपालन देखेर यसतर्फ आकर्षण बढ्यो । त्यसपछि यही क्षेत्रमा केही गरेर देखाउने अठोटका साथ गाउँ फर्केकी हुँ,” केसीले भनिन्।
बाख्रापालनका लागि उनले करिब २० लाख रुपैयाँ लगानी गरेर आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रापालनसँगै आगामी दिनमा कुखुरापालन, गाईभैँसीपालन, माहुरीपालन र कफीखेतीसमेत विस्तार गर्ने योजना रहेको उनले सुनाइन्।
विसं २०८१ मा गाउँ फर्किएर व्यवसाय सुरु गरेकी केसीले हालसम्म कुनै सरकारी वा अन्य निकायबाट आर्थिक सहयोग नपाएको गुनासो गरिन्। यद्यपि मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाबाट आवश्यक प्राविधिक परामर्श र सुझाव पाइरहेको उनले बताइन्।
उनको यस कदमप्रति परिवारसमेत उत्साहित छ। बुबा चित्र केसीले छोरीले वैदेशिक रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा भविष्य खोज्न थालेकोमा गर्व लागेको प्रतिक्रिया दिए।
“मेरा पाँच छोरीमध्ये अरू सबै रोजगारीका सिलसिलामा सहरतिर छन्। हामी श्रीमान्–श्रीमती पनि काठमाडौँमै बस्छौँ। वैदेशिक रोजगारीमा रहेकी छोरी गाउँ फर्केर आफ्नै ठाउँमा कृषि र पशुपालनमा लागेकी देख्दा निकै खुसी लागेको छ,” उनले भने।
गाउँमा व्यवसायको नियमित रेखदेख गर्ने जनशक्तिको अभाव चुनौतीका रूपमा रहे पनि अरुणा आफ्नो लक्ष्यप्रति दृढ छिन्।
“सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन । सफलता कति हासिल हुन्छ, त्यो समयले देखाउनेछ,” उनले आत्मविश्वासका साथ भनिन्।

