काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
शनिबार प्रहरीले रोकायाको घरमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सिमकोटका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार रोकायाको घरबाट फलामको रडबाट बनाइएका १२ थान गोली तथा ११० ग्राम बारुदसमेत फेला परेको छ।
बरामद गरिएको हातहतियार तथा विस्फोटक सामग्रीसहित रोकायालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।

