काठमाडौँ ।
गीतकार विजया बस्नेतको शब्द रचनामा तयार भएको मार्मिक गीत ‘बल्झिएर कलेजीको घाउ’ सार्वजनिक भएको छ। पछिल्लो समयका लोकप्रिय एवं प्रतिभाशाली युवा गायक सन्देश पौडेलको सुमधुर स्वर रहेको यस गीतले बजारमा चर्चा कमाउन थालेको छ।
बहुमुखी प्रतिभाको सङ्गम
यस गीतमा गायक पौडेलको स्वर मात्र छैन, उनकै संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ समेत रहेको छ। मात्र १८ वर्षको उमेरमा यति गहन प्राविधिक र सृजनात्मक जिम्मेवारी सम्हालेर सन्देशले आफ्नो बहुमुखी प्रतिभा प्रमाणित गरेका छन्।
गीतको रेकर्डिङ भेनस् रेकर्डिङ स्टुडियो, महाराजगन्जमा गरिएको हो, जसमा निम्न कलाकारहरूको योगदान रहेको छ:
बाँसुरी नगेन्द्रविक्रम राई
,सारङ्गीमा हेमन्त कान्छा रसाइली,रेकर्डिस्ट: विक्रम कार्की
भिडियोमा स्वयं सन्देशको अभिनय
गीतको म्युजिक भिडियोलाई शान्ति पौडेलले निर्देशन गरेकी हुन्। भिडियोमा गायक सन्देश पौडेलले स्वयं मुख्य कलाकारको भूमिका निर्वाह गर्दै जीवन्त अभिनय पस्किएका छन्। भिडियोको सम्पादन र कलर ग्रेडिङ राज क्षेत्रीले गरेका छन् भने छायाङ्कन सौगात श्रेष्ठको रहेको छ।
आमाको प्रेरणा र बाल्यकालदेखिको साधना
कक्षा ३ देखि नै बालगीत गाउन सुरु गरेका सन्देशले रेडियो नेपालको राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा द्वितीय स्थान हासिल गरिसकेका छन्। आफ्नी आमा शान्ति पौडेलको मुख्य प्रेरणा र सहयोगमा सङ्गीत यात्रा अगाडि बढाइरहेका उनले हालसम्म स्वदेश र आधुनिक विधाका करिब एक दर्जन गीतहरूमा आवाज दिइसकेका छन्।

