काभ्रे । लगातारको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली खण्डका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ।
चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती तथा सिन्धुलीको आँपघारी क्षेत्रमा निर्माण गरिएका वैकल्पिक डाइभर्सन बाढीले बगाउँदा उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध बनेको हो।
शनिबार दिउँसो परेको वर्षासँगै जोखिम बढेपछि सुरक्षा निकायले सतर्कता अपनाउँदै राजमार्गमा आवागमन रोक्ने निर्णय गरेको थियो। जिल्ला प्रहरी कार्यालय धुलिखेल ले काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटारसम्मको सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी रविन विष्ट का अनुसार रोशी खोलामा पानीको बहाव अस्वाभाविक रूपमा बढेकाले थप जोखिम हुन नदिन पूर्वसावधानीस्वरूप यातायात बन्द गरिएको हो। उनले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र अर्को सूचना जारी नभएसम्म उक्त खण्ड प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
गत वर्षको बाढीपहिरोले रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन हुँदै आएको थियो। त्यसपछि गत चैतको तेस्रो सातामा पनि सोही क्षेत्रका विभिन्न स्थानमा थप ४ किलोमिटर सडक क्षतिग्रस्त बनेपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो।
राजमार्ग अवरुद्ध भएसँगै सवारीसाधनलाई अहिले धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकेर राखिएको छ। डिभिजन सडक कार्यालयका अनुसार प्रभावित क्षेत्रमा स्थायी सडक निर्माणको काम भने जारी रहेको छ।

