काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार दृढ प्रतिबद्ध रहेको बताएकी छिन्।
काठमाडौँमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले थारु समुदाय नेपालको पश्चिम कञ्चनपुरदेखि पूर्व झापासम्म तथा तराई–मधेसका विभिन्न जिल्लामा फैलिएको उल्लेख गरिन्।
साथै, देशविदेशमा रहेका थारु समुदायले जहाँ पुगे पनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परालाई निरन्तर आत्मसात् गर्नुपर्नेमा उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीले माघ १ गते नेपालका विभिन्न समुदायले फरक–फरक नाम, शैली र परम्पराअनुसार चाडपर्व मनाउने गरेको उल्लेख गर्दै यसले नेपालको सांस्कृतिक विविधता र एकताको सुन्दर पक्ष उजागर गर्ने बताइन्।
उनले आपसी सद्भाव, विश्वास र सहकार्यमार्फत मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु आजको राष्ट्रिय आवश्यकता भएको पनि स्पष्ट पारिन्।
प्रधानमन्त्रीको भनाइसँगै महोत्सवमा थारु संस्कृति, परम्परा र पहिचान झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

