काठमाडौँ । नेकपा (माओवादी) र जेन–जी अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठनका लागि संयुक्त संघर्ष गर्ने सहमति भएको छ। बिहीबार माइतीघरमा भएको भेटघाटपछि दुई पक्षबीच चारबुँदे सहमति भएको नेकपा (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्दले बताए।
हस्ताक्षरपछि माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले सहमतिलाई ‘ऐतिहासिक’ भन्दै आन्दोलनलाई निर्णायक चरणतर्फ लैजाने दाबी गरे।
उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट निकास दिन सर्वपक्षीय सहमतिमा आधारित अन्तरिम सरकार आवश्यक भएको निष्कर्षमा दुवै पक्ष पुगेको बताए।
सहमति अनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना अघि बढाउने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने तथा जेन–जी विद्रोहका माग पूरा गर्न संयुक्त आन्दोलन गर्ने विषय सहमतिमा छ।
अध्यक्ष चन्दले आन्दोलन लक्ष्यमा नपुग्दासम्म निरन्तर जारी रहने स्पष्ट पारे। “आन्दोलन गन्तव्यमा नपुगेसम्म यो मुद्दा सडक र जनताको विषय बनिरहन्छ,” उनले भने।
सहमतिसँगै माओवादी र जेन–जी समूहबीचको सहकार्यले आगामी दिनमा राजनीतिक संघर्ष थप तातिने संकेत देखिएको छ।

