सुनसरी । प्रत्येक वर्ष आयोजना हुँदै आएको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ २२ गतेदेखि सुरु हुने भएको छ। धरान फुटबल क्लबले २०५५ सालदेखि निरन्तर आयोजना गर्दै आएको प्रतियोगिता माघ २२ देखि फागुन २ सम्म धरान रङ्गशालामा सञ्चालन हुने कार्यतलिका छ।
आयोजकले पत्रकार सम्मेलनमार्फत यस वर्षको प्रतियोगितामा १० टोली सहभागी हुने जानकारी दिएको छ। गत वर्ष आठ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा यसपालि दुई टोली थपिएका हुन्। क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगिताले यस वर्ष अझ व्यापक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।
प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँका साथै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका महासचिव नवीन राईले जानकारी दिए।
‘प्रतियोगिताका सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।’ राईले भने ।
यस वर्षको बुढासुब्बा गोल्डकपमा एनआरटी क्लब, चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौं), सातदोबाटो युथ क्लब (ललितपुर), एलए क्लब पोखरा, झापा–११ झापा, धरान फुटबल क्लब, रोयल थिम्फु क्लब (भुटान) र जर्जियन क्लब लेम्पुङ (भारत) सहभागी छन्।
प्रतियोगिताले धरानको खेल पर्यटनको प्रवर्द्धनसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएको छ।

