काठमाडौँ । सेवाप्रदायक स्वास्थ्य संस्थालाई समयमै भुक्तानी दिन नसक्दा स्वास्थ्य बिमा बोर्ड गम्भीर संकटमा परेको छ। सरकारले आवश्यक बजेट उपलब्ध नगराएपछि देशका ठूला अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका सेवा बन्द गर्न थालेका छन्।
बिहीबारदेखि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरेको छ। यसअघि नै सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले ‘इन्डोर’ सेवामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न सकेको छैन। हाल ओपीडी र फार्मेसीमा मात्र बिमा सेवा सञ्चालन भइरहेको उक्त केन्द्रलाई बिमा बोर्डले साढे १३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
स्वास्थ्य बिमा र विपन्न नागरिक उपचार शीर्षकमा कुल ४० करोड ५० लाख रुपैयाँ भुक्तानी हुन नसक्दा गङ्गालाल हृदयरोग केन्द्र पनि बिमा कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने अवस्थामा पुगेको छ। अस्पतालका एक पदाधिकारीले भने, “सरकारबाट उपचारको भुक्तानी नपाउँदा थप सेवा दिन असम्भवजस्तै भएको छ। ओपीडी र फार्मेसी सेवा पनि बन्द गर्ने चरणमा छौँ।”
त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक प्राडा पवन चालिसेले करोडौँ रुपैयाँ भुक्तानी नआएपछि बिमा सेवा बन्द गर्नुपरेको बताए। “हामीले दाबी गरेको रकममध्ये ३० देखि ४५ प्रतिशतसम्म खारेज गरिँदा अस्पताल सञ्चालनमै समस्या आयो,” उनले भने। त्रिवि शिक्षण अस्पताललाई मात्रै बिमा बोर्डले करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
उनका अनुसार महिनौँसम्म भुक्तानी नआउँदा औषधि खरिद, उपकरण मर्मत तथा दैनिक सञ्चालन खर्च धान्न कठिन भएको छ। साथै बिमा बोर्डले तोकेको सेवा दर र अस्पतालको वास्तविक खर्चबीच ठूलो अन्तर रहेको उनले बताए।
सरकारले सर्वसाधारणलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको भए पनि भुक्तानी व्यवस्थापन कमजोर हुँदा सरकारी अस्पताल नै सेवा रोक्न बाध्य भएका हुन्।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बजेट अभावका कारण सेवाप्रदायक संस्थालाई भुक्तानी दिन नसकिएको स्वीकार गरे।
गत वैशाखदेखि असोजसम्मको ४६ प्रतिशत भुक्तानी भइसकेको छ भने अझै करिब ११ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ।
भुक्तानी ढिलाइको मुख्य कारण बजेट अभाव र दाबी व्यवस्थापन प्रणालीको कमजोरी रहेको बताउँदै अगाडि उनले भने “बिमितको संख्या बढ्दो छ, तर त्यसअनुसार बजेट समयमै निकासा नहुँदा समस्या थपिँदै गएको छ।”

