काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश विभागले यससम्बन्धी निर्देशन जारी गर्दै ती देशहरूमा आप्रवासी भिसा आवेदन प्रक्रिया रोक्न आदेश दिएको हो।
आगामी जनवरी २१ देखि निर्णय लागू हुनेछ। ल्याटिन अमेरिका, क्यारेबियन, बाल्कन, दक्षिण एशिया, अफ्रिका तथा मध्यपूर्वका मुलुकहरू यस निर्णयबाट प्रभावित हुनेछन्।
स्थगनले स्थायी रूपमा अमेरिका बसोबास गर्न चाहने व्यक्तिहरूलाई असर गर्नेछ। पर्यटक भिसा वा छोटो अवधिका भिसामा भने यसको प्रभाव पर्ने छैन।
अमेरिकी विदेश विभागका अनुसार अमेरिकी जनताका लागि लक्षित लोककल्याणकारी सुविधा दुरुपयोग भएको भन्दै आप्रवासन प्रणाली कडा बनाइएको हो। यस विषयमा पुनर्मूल्यांकन गरिने पनि विभागले जनाएको छ।
‘अमेरिकी जनताको धन दुरुपयोग गर्ने गतिविधिलाई मध्यनजर गर्दै ट्रम्प प्रशासनले आप्रवासन प्रणालीको दुरुपयोग अन्त्य गर्न कदम चालेको हो,’ विदेश विभागको विज्ञप्तिमा उल्लेख छ। ‘७५ देशबाट आप्रवासी भिसा प्रक्रिया रोकिँदैछ। सार्वजनिक सेवा र लोककल्याण सुविधा लिन चाहने विदेशी नागरिकको प्रवेश नियन्त्रण गर्न आप्रवासन प्रक्रियाको पुनर्मूल्यांकन भइरहेको छ।’
विभागका अनुसार प्रभावित देशका नागरिकले आप्रवासी भिसाका लागि आवेदन दिन भने सक्नेछन्। तर स्थगन अवधि सकिनुअघि कुनै पनि भिसा स्वीकृत वा जारी हुने छैन।
यसअघि विदेश विभागले सन् २०२५ मा एक लाखभन्दा बढी भिसा खारेज गरिएको जानकारी दिएको थियो। ओभरस्टे गर्ने पर्यटक, आपराधिक गतिविधिमा संलग्न व्यक्ति, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलगायतका कारणले पर्यटक, विद्यार्थी र विशिष्टकृत कामदारका भिसा रद्द गरिएको थियो।

