२०८१ असार १५ नेपालमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनका संस्थापक र संचालक श्रद्धेय नेता कमरेड पुष्पलालको सयौं जन्मदिवस हो । यस ऐतिहासिक दिवसका सन्दर्भमा अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति सर्वप्रथम कमरेड पुष्पलाल र उहाँका क्रान्तिकारी विचार, वस्तुवादी राजनीति, सर्वहारावादी भावना र निस्वार्थ कर्मप्रति हार्दिक स्मरण, भावपूर्ण श्रद्धार्पण र क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ । साथै पुष्पलाललगायतका क्रान्तिकारी योद्धाहरुले स्थापना र विकास गरेको नेपाल कम्युनिस्ट पार्टी र आन्दोलनको संचालनका क्रमका सम्पूर्ण सहिद, बेपत्ता, घाइते, योद्धा आदि सबैप्रति यथोचित श्रद्धासहित सलामी अर्पण गर्न चाहन्छ । साथै यस ऐतिहासिक दिवसका अवसरमा संयोजन समितिले प्रस्तुत राजनीतिक श्वेतपत्र जारी गर्नु आफ्नो कर्तब्य ठान्दछ ।
पुष्पलालले रोपेको नेपाली कम्युनिस्ट क्रान्तिकारी बिउ टुसाउँदै गर्दादेखि नै उहाँ र उहाँले रोपेको यो विरुवामाथि देस र विदेसबाट, देब्रे र दाहिनेतिरबाट र भित्री र बाहिरी रुपमा दक्षिणपन्थी र उग्रपन्थी हमलाहरु सुरु भए । आफ्नो सही वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक यात्राको क्रममा उहाँ र उहाँको क्रान्तिकारी टिमले ती हमलाहरुको समय र परिस्थितिअनुसार कहिले सुषुप्त त कहिले सशक्तरुपले प्रतिवाद गर्दै कम्युनिस्ट पार्टी र आन्दोलनको सच्चा मालेमावादी क्रान्तिकारी धारालाई बचाउन अथक संघर्ष गर्नुभयो । यसक्रममा २०२५ सालको ऐतिहासिक गोरखपुर सम्मेलनबाट नेपाली क्रान्तिको वैचारिक दिशामा माओविचारधारा र राजनीतिक कार्यदिशाको रुपमा नयाँजनवादी क्रान्तिलाई ठहर गर्नुभयो । यसरी उहाँले यसअघि र पछिसम्म पनि नेपाल र नेपाली जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु उठाई सान्तवाद र साम्राज्यवादका विरुद्ध किसान, मजदुर, विद्यार्थी , बुद्धिजीवी आदिका आन्दोलनहरुद्वारा क्रान्तिको आँधिबेहरी ल्याउनको लागि इमान्दार कोसिस गर्नुभयो ।
यद्यपि उहाँ जीवित रहँदासम्म उहाँका विचार खासगरी संयुक्त जनआन्दोलनको कार्यनीतिअनुसार मुख्य दुश्मन शक्तिका विरुद्धका सम्पूर्ण शक्तिहरु मिलेर मुख्य दुश्मनमाथि प्रहार गर्न कुनै पनि राजनीतिक पार्टी र स्थापित नेताहरु तयार भएनन् । उहाँको निधनपश्चात् मात्र उहाँकै विचार अनुसार देस र जनताको प्रमुख दुश्मनका विरुद्ध वामपन्थी कम्युनिस्ट शक्तिहरु र प्रजातान्त्रिक/लोकतान्त्रिक शक्तिहरु आपसमा मोर्चा र सहमति कायम गरेर २०४६ र २०६२/६३ सालमा संयुक्त आन्दोलनमा उतृए । फलस्वरुप देसमा सीमित पुँजीवादी अधिकारसहितको संसदीय व्यवस्था हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आएकोछ । उल्लेखनीय छ कि पुष्पलालको यो विचार र संयुक्त जनआन्दोलनको यो बाटो नपकडेको भए हाल यो बुर्जुवा गणतन्त्र पनि देसमा आउन कठिन थियो । यो कुरा बेग्लै हो कि दल र तिनका मुख्य नेताहरुको लाछी, लाचार र दलाल चिन्तनप्रवृत्तिका कारण यो बुर्जुवा गणतन्त्र पनि आफ्नो शास्त्रीय स्वरुपको प्रगतिशील र राष्ट्रिय चरित्रको नभएर पूर्णत: नवउदारवादी दलाल चरित्रको छ । त्यसैले पनि गणतन्त्र आएपनि वैदेशिक हस्तक्षेप र शोषण-दमनको सिकन्जामा फस्दै र कँसिदै गएको छ भने जनता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार अनि न्याय, सम्मान र सुरक्षाको अभावमा छट्पटिइरहेकाछन् । पुँजीवादी संसदीय व्यवस्थाका कारण चुनाव, चुनावी पद र राजनीतिक-कूटनीतिक पदहरु पनि पुँजी र पावरमा खरिदबिक्री भएका छन् ! फलतः कथित ठुला पार्टी र नेता-शासकहरुको कुमति, कुनीति, कुनियत र कुशासनका कारण भ्रष्टाचार, तस्करी, कमिशनखोरी, महङ्गी , कालाबजारी र करछली आदि आर्थिक अपराध र राजनीतिक-सांस्कृतिक विकृति-विसंगतिले चरम सीमा नाघेको छ र देस आज २४ खर्बभन्दा बढी वैदेशिक ॠणमा डुबेको छ । दलालवाला, पुँजीवाला र पावरवाला सिमित पार्टी-नेता र तिनका परिवार-व्यापारिक घरानाहरुलाई नेपाल लूटखसोट र भोगविलासको साम्राज्य भएको छ । यस दौरानमा सर्वाधिक दुखद विडम्बना त यो भएको छ कि पुष्पलालको जन्मशताब्दी/शतबार्षिकी र नेकपाको स्थापनाको हीरक महोत्सव मनाइदै गरिएको अवस्थामा नेकपा र पुष्पलालकै नाम बेचेर नेताहरुले दाम कमाउने काम गरेर कम्युनिस्ट विचार, व्यवस्था, पार्टी, नेता र कार्यकर्ताको समेत गर्नुसम्म बदनाम गरेका छन् ! यसरी के स्पष्ट भएको छ भने निरंकुश राजतन्त्रात्मक निर्दलीय पंचायती व्यवस्थाको अन्तपछिका यी ३५ बर्षमा देसको स्वाभिमान गिर्दै गएको मात्र होइन देसलाई साम्राज्यवादी-विस्तारवादीहरुको खेलमैदान र रणमैदान बनाउँदै देसको स्वत्व-अस्तित्व नै समाप्त गरिंदैछ । अझ दुखद आश्चर्य त के भएको छ भने देस र जनताको यो हालत गराउनमा आफूलाई मालेमाका अनुयायी, पुष्पलालका पुजारी, कम्युनिस्ट आन्दोलनका सारथि र कम्युनिस्ट पार्टीका कमान्डर भन्नेहरुको समेत अहं भूमिका छ ! यसबाट के स्पष्ट भएको छ भने सोभियत रूसमा करोडौं जनता-योद्धाहरुको त्याग-बलिदानबाट बनेको संसार हल्लाउने शक्तिशाली कम्युनिस्ट पार्टी, आन्दोलन र समाजवादी सत्तालाई अन्तर्ध्वंश गरेका ख्रुश्चोभदेखि यल्तसिन र गोर्बाचोभसम्मका कुख्यात कम्युनिस्ट नामधारी संसदवादी दलाल नेता-शासकहरुका नेपाली अवतारहरु उदीयमान नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादलाई समाप्तै पार्ने गुरुयोजनामा रहेका छन् । तथापि यो कुरा पनि त्यत्तिकै सत्य हो कि देस, जनता र कम्युनिस्ट आन्दोलनको
यो हविगत हुनुमा यहाँका कम्युनिस्ट क्रान्तिकारी भनिने हामी कयौं पार्टी र नेताहरुका कमजोरीले पनि ठुलो काम गरेको छ । कार्यनीतिक, सांगठनिक, सांस्कृतिक र प्राविधिक विषय र व्यवहारमा मतभेद वा विभेद हुँदाबित्तिकै क्रान्तिकारी विद्रोहको आवरणमा वा पुनर्गठन-नवनिर्माणको बहानामा आ-आफ्ना सिमित र संकुचित स्वार्थ पूरा गर्नको लागि नै प्राय:जसो विद्रोह र विभाजन भएकोले पनि आज नेपालमा कम्युनिस्ट आन्दोलन यसरी धरासायी हुनपुगेको हो । यो कुराको प्रमाणको रुपमा क्रान्तिकारी विद्रोह र विभाजनबाट बनेका तुलनात्मक रुपले सही विचार र स्वच्छ आचार अंगालेका भनिएका पार्टी र नेताहरुकै बिचमा आपसमा हुर्के-बढेका दम्भ-अहंकार, आग्रह-पूर्वाग्रह, ईर्ष्या-डाहा, आक्रमण-प्रत्याक्रमण र निषेध-नि:शेषका भावना र कृयाकलापहरुलाई प्रथम कारणको रुपमा लिन सकिन्छ । यसरी नै यिनै गलत चिन्तन र चरित्रले गर्दा पुष्पलालकै बिचार र बाटोमा बनेका र बढेका भनिएका क्रान्तिकारी कम्युनिस्टहरुका बिचमा पनि मुद्दा मिल्ने अवस्थामा समेत सडक संघर्षमा ससाना सहमति, सहकार्य र संयुक्त अभ्यास हुन-गर्न नसकेको-नचाहेको खेदजनक अवस्थालाई दोस्रो प्रमाणको रुपमा लिन सकिन्छ । यसैगरी तेस्रो प्रमाणका रुपमा जुन शक्ति, व्यक्ति र प्रवृत्तिविरुद्ध विद्रोह बोल्दै बिभाजित बनेर बाटो बदलेका , व्यक्ति, शक्ति र प्रवृत्तिहरु केही समयको अन्तरालमै आपसमा साँठगाँठ, सहकार्य र संयुक्त मोर्चा गर्दै पार्टी एकता र ध्रुवीकरणमा समेत गएका र यो प्रकृया अद्यापि निरन्तर भएको कुरालाई पनि लिन सकिन्छ ।
यिनै अवांछित, अप्रिय र अनहोनी नीति र कृतिले गर्दा नै निर्णायक रुपले विजेता बन्ने र अघि बढ्ने हैसियतमा संयुक्त र सशक्त आन्दोलन हुन नसक्दा नै आज MCC र नागरिकता सम्बन्धी चरम राष्ट्रघाती विधेयक समेत आम जनताको असहमति र विरोधका बावजुद पनि संसदबाट पारित हुन सकेका हुन् । अझ हास्यास्पद कुरा के भैरहेछ भने त्यही MCC का विरुद्धमा कतिपय शक्ति र व्यक्तिहरुले MCC का प्रायोजक सत्ताधारी शक्ति र नेताहरुसँगै मोर्चा मात्र होइन पार्टी नै एकता गर्दै छन् अनि संसद र चुनावबाट समाजवाद ल्याउने गुड्डी हाँक्दै छन् । यी सबै हरकतहरुबाट कम्युनिस्ट पार्टीका नेता भनिएकाहरुले आफ्ना व्यक्तिगत, पारिवारिक र गुटगतलगायतका स्वार्थ पूर्तिका लागि विद्रोह वा एकता गर्ने गरेको सहजै पुष्टि भएको छ ।
आज नेकपाका संस्थापक मुख्य नेता पुष्पलालको जन्म शताब्दी/शतबार्षिकीको अवसरमा यो दिवस मनाउनुको अर्थ र महत्व पुष्पलालका वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक आदि क्षेत्रका क्रान्तिकारी योगदानहरुको अवलम्बन र कार्यान्वयनमा मात्र रहेको छ । साथै उहाँले गर्नुभएको मालेमाको आत्मसातीकरण, नेपाली समाजको ठोस अध्ययन र वैज्ञानिक विश्लेषण अनि देस र जनताप्रतिको उहाँको त्याग, तपस्या, बलिदान र समर्पण; विचार, विवेक, नीति, नैतिकता र स्वाभिमानको सम्मान, वर्गसंघर्ष, अन्तर्संघर्ष, पार्टीपद्धति र अनुशासन आदिप्रतिको प्रतिबद्धता र कटिबद्धता तथा उहांँको सादा जीवन, पारदर्शी कार्यशैली, असल बानी-बेहोरा, कामरेडली भावना र सहज स्वभावलाई जीवनपद्धतिको रुपमा स्वीकार गरेर क्रान्तिकारी व्यवहारमा उत्रनु नै उहाँको सच्चा सम्झना र सम्मान गरेको हुनेछ ।
यसरी नै मालेमाले सिकाएझैं र पुष्पलालले लागू गर्न प्रयास गरेझैं देस, जनता र क्रान्तिलाई केन्द्रविन्दु बनाएर सोंच्ने; आपसी आग्रह-पूर्वाग्रहजस्ता मनोगतवादी रोगबाट बच्ने, विगतदेखि वर्तमानसम्मका आफ्ना र आन्दोलनका कमीकमजोरीहरुलाई निर्ममतापूर्वक समीक्षा, स्वीकार र सुधार गर्ने; पार्टी र नेताहरुको निरन्तर शुद्धीकरण र रुपान्तरणको विधिबाट नियमित क्रान्तिकारीकरण र सर्वहाराकरण गर्ने आदि विधि र व्यवहारहरु लागू गर्ने-गराउने गर्नुमा नै पुष्पलालले देखाएको सही र क्रान्तिकारी बाटोमा हिंडेको र पुष्पलालका सपना साकार पार्न लागेको ठहर्छ भन्ने हाम्रो बुझाइ छ ।
अन्तमा, मालेमाको बुझाइ र गराइको मूल मर्म अर्थात् क्रान्तिकारी धारबाट पूरै विचलित, विघटित र विसर्जित भएको अवस्थामा भएका सिमित टुटफुट र विभाजनहरु बाहेक नेपाली कम्युनिस्ट आन्दोलनमा आएका अन्य धेरै फुटहरुले क्रान्तिलाई धोका र धक्का दिएको आजको दुखद अवस्था हो । यो अवस्थाबाट पार नपाए प्रतिगमन हुने वा यसै अस्थिरता र अस्तव्यस्तताका बिचमा वैदेशिक हस्तक्षेप हुने प्रबल खतरा छ । क्रान्तिलाई अघि बढाएर मात्र यो खतरा रोक्न सकिन्छ । तसर्थ आधारभूत रुपले पुष्पलालका विचारहरुलाई मान्ने मालेमावादी क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह, संघसंस्था र व्यक्ति-व्यक्तित्वहरु सर्वप्रथम आफैप्रति निर्मम बन्दै आत्मसमीक्षा र आत्मालोचना गर्ने अनि देस र जनताप्रति जिम्मेवार र गम्भीर हुँदै मूलतः पुष्पलालको वैचारिक योगदानमा आधारित साना-ठुला सम्पूर्ण पार्टीहरु अब अलगथलग रुपमा होइन एउटै छातामुनि एकताबद्ध भै निरन्तर क्रान्तिको सफल र उज्ज्वल बाटोमा पूर्ण प्रतिबद्धता र कटिबद्धताका साथ निर्णायक संघर्षमा जुट्न र डट्नको लागि अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछ ।
अन्तमा, कमरेड पुष्पलाल र उहाँका विचार र व्यवहारहरुलाई स्मरण गर्न र पुष्पलालको विचारलाई केन्द्रमा राखेर नेपाली कम्युनिस्ट आन्दोलनलाई एकिकरण र ध्रुवीकरण गरी क्रान्तिकारी पुनर्गठनको हाम्रो प्रयास र अनुरोधलाई गम्भीरतापूर्वक मनन गर्न विशेष अपिल गर्दै हामी पुष्पलाल जन्मिएको यो सयौं जन्मोत्सवका सन्दर्भमा उहाँप्रति पुन: शब्दश्रद्धा, हार्दिक आभार र लालसलाम सहित यो राजनीतिक श्वेतपत्र जारी गर्दछौं ।
नारायण शर्मा
संयाेजक,
अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति
श्वेतपत्रकाे पूर्ण पाठ यस्ताे छ:




