० नेपालमा भर्खरै दाहाल सरकारको ठाउँमा ओली सरकार आएकोछ । गठबन्धन परिवर्तन भएकोछ । लगातार सरकार परिवर्तन र गठबन्धन फेरबदलको घटनालाई कसरी मूल्याङ्कन गर्नु हुन्छ?
– संयुक्त अधिराज्य (वेलायत) लाई संसदीय प्रणालीको जननीकारुपमा मानिने भएकाले सामान्यतः त्यहाँको संसदीय अभ्यास र प्रचलनलाई संसदीय प्रणालीको मानककोरुपमा लिने गरिन्छ । त्यहाँको प्रचलन अनुसार संसदीय प्रणालीलाई “वीनर टेकस् अल” अर्थात जित्नेले सबै लिने भन्ने मान्यता पनि रहेकोछ । त्यसको तात्पर्य जित्नेले राजकाजका सबै अधिकार लिने र पराजित हुनेले प्रतिक्षा गरेर बस्ने भन्ने हो। जसअनुसार पूर्ण बहुमत हासिल गर्ने दलले स्वतः सरकार गठन गर्न पाउँदछ । कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेर त्रिशङ्कु संसद (हङ्ग पार्लियामेन्ट) भएमा सबैभन्दा ठूलो दलको नेतृत्वमा तेस्रो ठूलो दलको समर्थन÷सहभागितामा सरकार गठन हुन्छ । दुबै अवस्थामा दोस्रो ठूलो दल प्रमुख प्रतिपक्षको भूमिकामा रहन्छ, जसलाई प्रतिक्षारत सरकार (गभर्नमेन्ट ईन वेटिङ्ग) पनि भन्ने गरिन्छ । प्रधानमन्त्रीले जुनसुकै जतिखेर पनि संसद विघटन गरेर नयाँ निर्वाचनमा जान सक्दछ भन्ने सिद्धान्त रहेको भए तापनि अहिले आएर ‘फिक्स्ड टर्म पार्लियामेन्ट’ को नीति अवलम्बन गरिएको छ र चार वर्षसम्म संसद विघटन गर्न नपाउने र अन्तिम वर्ष लागेपछि मात्र विघटन गर्न पाइन्छ ।
अहिले यहां (नेपालमा) लागु गरिएको प्रणाली गिजोलिएको र ठिमाहा (वर्णशंकर) संसदीय प्रणाली हो, त्यसैले त्यो संसदीय प्रणालीको आधारभूत मूल्य, मान्यतामा चलेको छैन र नेपालमा भैरहेका परिघटनाहरु त्यसैका परिणाम हुन। किनभने संविधान अनुसारनै संसदको समयावधिभर चार पटक चार किसिमको सरकार (बहुमतको, दुई वा दुई दुई भन्दा बढी दलको, सबैभन्दा ठूलो दलको र बहुमत सावित गर्न सक्ने संसद सदस्यको) गठन गर्न सक्ने प्रावधान रहेकोछ । त्यस्तो सरकार गठन हुन नसक्ने अवस्थामा मात्र अर्को निर्वाचनमा जानसक्ने प्रावधान रहेकोछ । त्यसैगरि कथित स्थायित्वका लागि भनेर नयाँ संसद गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताब ल्याउन नपाईने र त्यसपछि एक वर्षसम्म ल्याउन नपाउने व्यवस्था गरिएकोछ । त्यसैले पदलोलुपता र सत्ता लुपताको पराकाष्ठास्वरुप सिद्धान्तहीन गठबन्धनको नौटङ्की गरिरहेका छन् । सरकार परिवर्तन भएर अस्थिरता हुने होईन मुख्य कुरा देश र जनताको व्यापक हितका पक्षमा राज्यसँग अधिकतम सहमतिमा विकास निर्माणको समग्र खाका छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । यहाँ त न्यूनतम खाका पनि राज्यसँग छैन, “चल्तीका नाम गाडी है” जस्तो अवस्था रहेकोछ । त्यसकारण पनि अहिलेको प्रवृत्ति हावी भएको छ ।
० अपराध ढाकछोप गर्न सरकारमा आउनु परेको वा विदेशी शक्ति केन्द्रले नयाँ गठबन्धन जुराइ दिएको जस्ता फरक–फरक विचारहरू पनि आएका छन् नि?
–नेपाल जस्तो नवऔपनिवेशिक आर्थिक–सामाजिक अवस्थामा रहेका मुलुकहरुका सत्ताधारी तत्वहरुको आफ्नो स्वाधिन एवम् सार्वभौम अस्तित्व र दृष्टिकोण भन्ने नै हुंदैन । त्यसकारण विदेशी साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले उनीहरुको स्वार्थ अनुसार भूमिका खेल्ने र हस्तक्षेप गर्ने कार्य गरिनै रहन्छन् र गरेका छन् । नेपालका संसदवादी पार्टीहरुले गरेका राष्ट्रघात, जनघात, भ्रष्टाचार एवम् नातावाद र कृपावादका बारेमा जगजाहेर नै छ । तिनीहरु सबै एउटै ड्याङका मूलाहरु जस्तै हुन । फरक विचारका पार्टीहरु भनिएको भए तापनि व्यवहार र संस्कारमा कुनै पनि भिन्नता रहेको छैन । नेपालको संसदीय वृत्तमा वैचारिक राजनीतिको अवसानको शुरुवात २०५१ सालपछि पूर्वपन्चहरु सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्दलाई नेपाली काङ्ग्रेस र नेकपा (एमाले) ले पालैपालो प्रधानमन्त्री बनाएर सरकारमा गएपछि भएको हो भने अहिले त्यो प्रकृया उत्कर्षमा पुगेको मात्र हो । तिनीहरु बीचको प्रतिस्पर्धा भनेको जसरी पनि सत्तामा आउने र आफ्ना निहित स्वार्थ पूर्ति गर्ने नै हो ।
० थापाजी, अहिले तपाईं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, प्रवास प्रदेश (ख) को इन्चार्ज हुनुहुन्छ । प्रवासमा पार्टी तथा संगठनलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
– हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दक्षिण एशिया खास गरेर छिमेकी देश भारत बाहेक समुद्रपारका सबै भौगोलिक क्षेत्र तथा देशहरुलाई प्रवास प्रदेश संगठन समिति (ख) नामाकरण गरेर त्यस अन्तर्गत पार्टी र संगठनको कामलाई अगाडि बढाउने योजना बनाएकोछ र मलाई त्यसको ईन्चार्जको जिम्मेवारी दिईएको छ । हाम्रो पार्टीले प्रवासी श्रमिकका रुपमा गएका तथा अन्य तरिकाले ती देशहरुमा रहंदै आएका नेपालीहरुलाई संगठित गर्ने नीति अवलम्वन गरेको छ । अहिले पार्टीले एक देश बराबर एक जिल्लाको मान्यता बनाएर पार्टी तथा जनसंगठनहरु निर्माण गर्दैछ । ती भौगोलिक क्षेत्र तथा देशहरु मध्येमा उत्तर अमेरिका, यूरोपियन यूनियन, संयुक्त अधिराज्य, पश्चिम एशिया, दक्षिणपूर्वी एशिया, सुदूरपूर्वी एशिया र ओशेनियाली देशहरु रहेकाछन् ।
० अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समस्याहरू के के हुन ?
–वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सामना गर्नु परेको मूख्य अभाव वा समस्या भनेको कम्युनिस्ट पार्टीहरुको एउटा साझा अन्तर्राष्ट्रिय मन्च वा संगठन निर्माण हुन नसक्नु हो । तेस्रो कम्युनिस्ट इन्टरनेशनल (कोमिन्टर्न) को सन १९२० मा विघटन भएपछि द ईन्फर्मेशन व्यूरो अफ द कम्युनिस्ट एन्ड वर्कर्स पार्टीज (कोमिन्फर्म) बनेको थियो र सन १९५६ सम्म रहेको थियो । त्यसपछिका समयमा रिभोल्युशनरी ईन्टरनेशनलिस्ट मुभमेन्ट (कोरिम) बनेको थियो र त्यसलाई साझा अन्तर्राष्ट्रिय मन्च वा संगठनको भ्रुणको रुपमा मानिएको थियो तर त्यसको पनि अघोषित विघटन हुन गयो । त्यसैगरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रश्न र विषयहरुलाई कसरी हेर्ने र बुझ्ने भन्ने विवाद पनि रहेका छन् तीमध्ये मूख्यतः (क) प्रथम विश्व युद्ध र विश्व समाजवादी क्रान्तिको प्रश्न (ख) एउटा देशमा समाजवाद स्थापनाको प्रश्न (ग) मार्क्सको स्थायी क्रान्तिको सिद्धान्तबारे ट्राटस्कीको अपव्याख्या (घ) सोभियत संघको कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी बीच चलेको महाविवाद (ङ) वर्तमान विश्वमा प्रधान अन्तर्विरोध किटानीको प्रश्न (च) कम्युनिस्ट पार्टीको मार्ग निर्देशक सिद्धान्तको प्रश्न (छ) सबै खाले संशोधनवाद विरुद्धको संघर्ष (ज) न्यू सिन्थेसिस र न्यु स्टेजको विषय (झ) व्यक्ति पूजा (पर्सनालिटी कल्ट) आदि रहेका छन् ।
० यहाँले पार्टीको अन्तर्राष्ट्रिय विभागमा पनि काम गर्दै आउनु भएको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आईकोर जस्ता संगठनले विश्वस्तरमा समन्वयको भूमिका खेलिरहेका छन् । तर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुग काम के हो जस्तो लाग्छ ?
–यस अगाडि भनिए जस्तै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुग वा कमि रहेको प्रमुख विषय भनेको नै कम्युनिस्ट ईन्टरनेशनल जस्तै एउटा कम्युनिस्ट पार्टीहरुको एउटा साझा अन्तर्राष्ट्रिय मन्च वा संगठन निर्माण हुन नसक्नु हो । तर ईन्टरनेशनल कोअर्डिनेशन अफ द रिभोल्युशनरी पार्टीज एन्ड अर्गनाईजेशन (आईकोर) ले विश्वभरका मार्क्सवाद, लेनिनवाद, माओविचारधारा मान्ने एवम् समाजवाद र साम्यवादलाई अङ्गीकार गर्ने वामपन्थी पार्टी तथा संगठनहरुलाई एउटै झण्डामुनि समेट्ने प्रयत्न गर्दै आइरहेको छ । तर आईकोर एउटा समन्वयकारी मन्च जस्तो मात्रै हो र त्यसले कोमिन्टर्नको जस्तो भूमिका खेल्न सक्दैन । पछिल्लो समयमा आईकोर र ईन्टरनेशनल लिग अफ पिपल्स स्ट्रगल (आईएलपिएस) को पहलकदमी र सहकार्यमा साम्राज्यवाद तथा फासिवाद विरोधी संयुक्त मोर्चाको रुपमा ईन्टरनेशनल एन्टी ईम्प्रेलिस्ट एन्ड एन्टी फासिस्ट यूनाईटेड फ्रन्ट पनि निर्माण भएर क्रियाशील रहेको छ । तर त्यो एक अन्तर्राष्ट्रिय संयुक्त मोर्चा मात्र हो । कम्युनिस्ट पार्टीहरुको बीचमा एउटा साझा अन्तर्राष्ट्रिय मन्च वा संगठन निर्माण गर्नुपर्दछ भन्ने विषयमा पनि छलफल तथा विचार हुँदै आएको छ । तर त्यलाई व्यवहारमै मूर्तरुप प्रदान गर्नका लागि धैर्यता र लगनशीलताको आवश्यकता पर्दछ ।
० तपाईंसित विद्यार्थी संगठनमा काम गरेको लामो अनुभव छ । तपाईले विद्यार्थी संगठनमा काम गर्दा खेरीको विद्यार्थी आन्दोलन र अहिलेको विद्यार्थी आन्दोलनमा के भिन्नता छ ?
– म विद्यार्थी आन्दोलन र संगठनमा संलग्न हुँदाखेरीको र अहिलेको देशको राजनीतिक परिस्थितिमा व्यापकरुपमा फरक पर्न गएकोछ । त्यसबेला निरंकुश निर्दलीय पन्चायती व्यवस्था कायम रहेको थियो । पन्चायती व्यवस्था र राजतन्त्रको विरोध गर्नेलाई राजकाज सम्बन्धि मुद्दा लगाएर फसाईन्थ्यो । खुलारुपमा संगठनको काम गर्न प्रतिबन्ध थियो त्यसैले गोप्य रुपमा गतिविधि गर्नु पर्दथ्यो । त्यतिखेर विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई संगठनमा आवद्ध गर्ने गरिन्थ्यो । म ९ कक्षामा अध्ययनरत हुँदाखेरी संगठनमा आवद्ध भएर पार्टी सदस्यता प्राप्त गरेको थिएँ । उ बेला राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए तर क्याम्पस र विश्वविद्यालय तहमा अध्ययन गर्न आउने बहुसंख्यक विद्यार्थीहरु कम्युनिस्ट पार्टी र काङ्ग्रेस पार्टी निकटका विद्यार्थी संगठनहरुमा आवद्ध भएका हुन्थे । राजनीतिक पार्टीहरुका गतिविधिहरु विद्यार्थी संगठनहरु मार्फत् कार्यान्वयन हुने गर्दथ्यो । अहिले नेपालको राजनीतिक परिदृश्यमा पनि त्यसबेला विद्यार्थी संगठनको नेतृत्वमा रहेर आन्दोलनमा अगुवाई गरेका व्यक्तिहरु नै सकृय रहेका छन् । अहिले देशमा पन्चायत पछि आएको संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था समेत विस्थापित भएर लोकतान्त्रिक गणतन्त्र स्थापना भएकोछ । देशको राजनीतिमा राजनीतिक पार्टीहरु अग्रभागमा आएका छन र राजनीतिसँग सम्बन्धित हरेक क्षेत्रमा मूख्य एवम् निर्णायक भूमिकामा पार्टीहरु नै रहेका छन भने विद्यार्थी संगठन र तिनीहरुका गतिविधि पृष्ठभूमिमा धकेलिएका छन वा ओझेलमा परेका छन् । अहिले शैक्षिक क्षेत्रमा पनि धेरै परिवर्तन आएको छ, उतिखेर ईन्टमिडिएट तहको पढाई पनि विश्वविद्यालयमा नै समाहित थियो भने अहिले दश जोड दुईको रुपमा विद्यालय तहमा रहेको छ । त्यसैगरी शिक्षा क्षेत्रमा हुन गएको नीजिकरण र व्यापारीकरणको कारणले गर्दा सार्वजनिक शिक्षा कमजोर भएको छ । यी सबै कार्यकारणले गर्दा अहिले विद्यार्थी संगठनहरु नाम मात्रका छन भने विद्यार्थी आन्दोलन त विलुप्त नै भएको छ भन्दा अत्युक्ति हुँदैन ।
० नयाँ पुस्तामा राजनीति र संगठनप्रति वितृष्णा बढेर गएको छ । राजनीति र संगठनप्रति नयाँ पुस्तालाई आकर्षित गर्न के गर्नु पर्दछ ?
–हिजो राजनीति विचारधारात्मक स्कूलिङको आधारमा गरिन्थ्यो जसको परिणामस्वरूप राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु त्याग, समर्पण र बलिदान समेतको भावनाले ओतप्रोत भएर मिसन अथवा अभियानका रुपमा दृढतापूर्वक समाज परिवर्तनको कार्यमा लाग्ने अठोट रहेको हुन्थ्यो । आज ती पार्टीका नेता तथा कार्यकर्ताहरु नै राज्यसत्ताका विभिन्न अङ्ग र संयन्त्रहरुमा हालीमुहाली गर्न पुगेका छन् भने हिजो जुन मूल्य र मन्यताका आधारमा राजनीतिक परिवर्तन मार्फत् जनताका व्यापक हितका पक्षमा आमूल परिवर्तन ल्याउने जुन लक्ष्य एवम् उद्देश्य रहेको हुन्थ्यो, त्यसको एकप्रकारले अवशान भएको छ । वैचारिक र सैद्धान्तिक मूल्य, मान्यताका आधारमा गरिने राजनीतिको हदैसम्मको पतन भएको छ । हिजो जनहितैषी र जनमुखी राजनीतिक व्यवस्थाको पक्षमा कुरा गर्ने पार्टी र नेताहरुनै राष्ट्रघात, जनघात, भ्रष्टाचार एवम् नातावाद र कृपावाद जस्ता निकृष्ट कार्य गर्नमा अग्रपङ्तिमा रहेका छन् । क्रान्तिकारी पार्टी र शक्तिहरुको कमजोर आत्मगत स्थितिको कारणले गर्दा त्यस्ता जनविरोधी तत्वहरुको व्यापक भण्डाफोर गर्ने र जनतामा सही एवम् सकारात्मक राजनीतिक चेतनाको प्रचार, प्रसार र विकास गराउने कामपनि यथेष्ट मात्रामा हुन सकिरहेको छैन ।थापा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यलय सदस्य हुन्।
जनबिहानी अनलाइनबाट साभार।

