वासिङ्टन, साउन १४ – अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन्। उनले यो कर १ अगस्टदेखि लागू हुने बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत भारतमाथि व्यापारमा कठोर कदम चाल्ने जानकारी दिएका हुन्।
ट्रम्पले भनेका छन्, “भारत हाम्रो मित्र हो, तर उनीहरूको उच्च करका कारण हामीले व्यापार घटाएका छौँ। अब त्यसको जवाफस्वरूप हामी पनि उनीहरूका सामानमा २५ प्रतिशत कर लगाउँदैछौँ।”
ट्रम्पले भारतको रुससँगको सैन्य तथा ऊर्जा व्यापारमाथि समेत कडा टिप्पणी गरेका छन्। उनका अनुसार भारत सधैँ आफ्ना सैन्य उपकरणहरूको ठूलो हिस्सा रुसबाट खरिद गर्दै आएको छ, र अहिले पनि रुस र चीनको ऊर्जा आयातमा भारत प्रमुख ग्राहक बनेको छ।
“जब विश्व समुदाय युक्रेनमाथिको आक्रमण रोक्न रुसमाथि दबाव दिइरहेको छ, भारत भने अझै उसैसँग गहिरो व्यापारिक सम्बन्ध कायम गरिरहेको छ। यस्तो अवस्थामा भारतमाथि थप जरिवाना लगाउन हामी बाध्य हुनेछौँ,” ट्रम्पले स्पष्ट पारेका छन्।
ट्रम्पको यो घोषणाले भारत-अमेरिका व्यापार सम्बन्धमा नयाँ तनाव सिर्जना गर्ने अनुमान गरिएको छ। हालसम्म भारत सरकार वा अमेरिकी प्रशासनबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

