काठमाडौं, साउन १४ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दै नेपाल अब विकासशील मुलुकको यात्रा सुरु गरिसकेको दाबी गरेका छन्। उनले पछिल्लो समय भएका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, ऊर्जा तथा यातायात क्षेत्रमा भएका उल्लेखनीय प्रगतिहरूलाई उदाहरण दिँदै देश अब गरिबीको दलदलबाट उठ्दै विकास र समृद्धिको दिशातर्फ अग्रसर भइरहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, “नेपाल पछिल्लो केही वर्षयता तीव्र परिवर्तनको चरणमा छ। हामीले राजनीतिक स्थायित्वसहित समृद्ध नेपालको बाटोमा पाइला टेकेका छौं। अब नेपाल पछाडि फर्कने छैन, अब हामी विकासशील राष्ट्रको यात्रामा छौं।”
उनका अनुसार, सरकारले जलविद्युत, सडक सञ्जाल विस्तार, सूचना प्रविधि र शिक्षा क्षेत्रमा रणनीतिक लगानी बढाएको छ। उनले कृषिको आधुनिकीकरण, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनलाई सरकारको प्रमुख प्राथमिकता रहेको पनि उल्लेख गरे।
प्रधानमन्त्रीको भनाइ अनुसार, देशको सामाजिक तथा आर्थिक सूचकांकहरू सुधारोन्मुख छन्, जसले नेपाललाई छिट्टै ‘निम्न आय भएको मुलुक’ बाट ‘मध्यम आय भएको विकासशील राष्ट्र’ बनाउने लक्ष्यमा नजिक पुर्याउँदैछ।
प्रधानमन्त्री ओलीले सबै नेपालीलाई सकारात्मक सोच, श्रम र इमानदारीका साथ राष्ट्र निर्माणमा लाग्न आह्वान गरे। “हामी सबै मिलेर काम ग¥यौं भने अबको दशक नेपालको विकास दशक हुनेछ,” उनले भने।

